काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–५, गोबडामा पिता इन्द्र बहादुर चन्द र स्वर्गीय माता जमुनादेवी चन्दको कोखबाट जन्मिएका वीरेन्द्रबहादुर चन्द काठमाडौं छिरेको एक दशकभन्दा बढी भइसक्यो । काठमाडौं आउँदा उनीसँग ठूलो योजना थिएन। सपना भने धेरै थिए तर ती सपना पूरा गर्ने बाटो स्पष्ट थिएन। श्रीमती सानु देउवासँगै कीर्तिपुरमा एउटा सानो कोठाबाट सुरु भएको उनको काठमाडौंको यात्रा सहज थिएन । घरबाट ल्याएको १५ हजार रुपैयाँ कोठा र दैनिक खर्चमै सकियो । खर्च धान्न साथीभाइसँग सरसापट गर्नुपर्ने अवस्था आयो। ऋण बढ्दै गयो, चिन्ता बढ्दै गयो। तर, चन्दसँग एउटा कुरा थियो– त्यो हो, हार नमान्ने स्वभाव । उनी काठमाडौंमा जागिर खोज्दै धेरै ठाउँ पुगे। चिनेजानेका सबैसँग कामका लागि आग्रह गरे। तर, सहजरुपमा जागिर पाउन सकेनन् । अन्ततः कञ्चनपुरको पुनर्वास नगरपालिका–१, अंशुवर्मा निवासी नरेश स्याङ्ताङले उनलाई काठमाडौंमा टिक्न ठूलो सहयोग गरे। आफैँ त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा डिग्री गरेका नरेश पनि जागिर खोज्दै वैदेशिक रोजगार व्यवसाय(मेनपावर)क्षेत्रमा पुगेका थिए । उनले चन्दलाई एउटा मेनपावर कम्पनीमा कामको अवसर दिलाए। त्यो अवसर चन्दका लागि केवल जागिर थिएन, काठमाडौंमा संघर्ष जारी राख्ने एउटा आधार थियो। सामाखुसीस्थित मेनपावर कार्यालयमा उनले करिब दुई वर्ष काम गरे। त्यसपछि कीर्तिपुरकै एउटा कन्सल्टेन्सीमा करिब एक वर्ष काम गर्ने अवसर पाए। त्यही एक वर्षले उनको जीवनको बाटो परिवर्तन गरिदियो । कन्सल्टेन्सीमा काम गर्दा उनले शैक्षिक परामर्श क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाए। यस क्रममा इलामका धिरेन राई उनका लागि महत्वपूर्ण मार्गदर्शक बने। विशेषगरी दक्षिण कोरियामा अध्ययनसम्बन्धी काम, विद्यार्थी परामर्श, प्रक्रिया व्यवस्थापन र कन्सल्टेन्सी सञ्चालनका व्यावहारिक पक्षहरू उनले धिरेनबाट सिक्ने अवसर पाए। धिरेनले आफ्नो अनुभव बाँडेर उनलाई अगाडि बढ्न मात्र सहयोग गरेनन्, आवश्यक ठाउँमा जिम्मेवारी हस्तान्तरण गरेर आत्मनिर्भर बन्ने वातावरणसमेत बनाइदिए। त्यही अनुभव र आत्मविश्वासले चन्दको मनमा एउटा विचार जन्मियो– सधैँ अरूको संस्थामा काम गरेर मात्र हुँदैन, अब आफ्नै केही गर्नुपर्छ। त्यसको परिणामस्वरूप २०७४ सालमा जन्मियो, ओम्नी ग्लोबल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी प्रालि। चार लाखबाट सुरु भएको सपना चन्दसँग ठूलो पुँजी थिएन। ऋण तथा सापटी गरेर करिब चार लाख रुपैयाँ जुटाए। कीर्तिपुरको पागादोबाटोमा सानो कार्यालय स्थापना गरे। कार्यालय ठूलो थिएन। पर्याप्त कर्मचारी थिएनन्। बजारमा प्रतिस्पर्धा भने निकै उच्च थियो। ठूलो लगानी नभए पनि चन्दसँग अनुभव थियो, सिकाइ थियो र निरन्तर काम गर्ने इच्छाशक्ति थियो। २०७६ सालसम्म उनले कीर्तिपुरबाटै व्यवसाय सञ्चालन गरे। त्यसपछि आएको कोरोना महामारीले उनको व्यवसायसहित सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई गम्भीर असर ग¥यो। करिब दुई वर्ष व्यवसाय ठप्पजस्तै भयो। व्यवसाय ठप्प हुँदा पूरानै प्रश्न अगाडि तेर्सियो– अब के गर्ने