काठमाडौँ । गायक खेम सेन्चुरी र गायिका मञ्जली बस्यालको स्वरमा रहेको तीज गीत ‘माइलो नि ढल्यो, साइँलो नि ढल्यो’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा सन्दीप सेन्चुरीको लय-थेगो रहेको गीत मञ्जली बस्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मत र वान डीबी एचडीले गरेका छन् भने रेकर्डिस्ट कुमार विश्वकर्मा हुन् । गीतको म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। भिडियोमा प्रभात पल ठकुरी, कृतिका परियार र प्रवेश धतानीले नृत्य तथा अभिनय गरेका छन्। प्रकाश खड्का सिनेमाटोग्राफर रहेको भिडियोको सम्पादन तथा कलर राजकुमार मगरले गरेका हुन् । गायिका मञ्जली बस्यालले आफ्नो साङ्गीतिक यात्रामा यस पटक चर्चित गायक खेम सेन्चुरीसँग पहिलो पटक सहकार्य गरेकी हुन् । नयाँ गीत सार्वजनिक भएपछि उनले दर्शक तथा श्रोतासँग गीतलाई माया गरिदिन र सक्दो सेयर गरिदिन आग्रह गरेकी छन् । ‘सदाको वर्षजस्तै यसपालि पनि मेरो युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक भएको छ । आदरणीय दाइ खेम सेन्चुरी र मेरो आवाज, सन्दीप सेन्चुरीको लय-थेगो, नेत्र अर्याल दाइको शब्द तथा एचबीएन किस्मतको एरेन्जमा गीत तयार भएको हो,’ बस्यालले भनेकी छन् । यस गीतकी मोडल कृतिका परियारका लागि भने ‘माइला नि ढल्यो, साइला नि ढल्यो’ पहिलो म्युजिक भिडियो हो । उनले आफ्नो पहिलो साङ्गीतिक यात्रालाई ‘सुन्दर यात्रा’ का रूपमा लिएको बताएकी छन् । ‘यो मेरो लागि केवल एउटा म्युजिक भिडियो होइन, मेरो साङ्गीतिक यात्राको पहिलो खुड्किलो र एउटा सुन्दर सपना पूरा भएको क्षण हो,’ परियारले भनेकी छन् । मञ्जलीले यसअघि करिब आधा दर्जन गीत सार्वजनिक गरिसकेकी छन् । ‘झिलझिल सितारा झिलझिल’, ‘कचकचे जोई’, ‘के छ दमली’,‘तल्ला घरे भाइ’, ‘बारुली कम्मर’, ‘आधि खोला सलल सालै जो’ लगायतका गीतमा उनको स्वर सुन्न सकिन्छ । उनको पहिलो गीत ‘बारुली कम्मर भाँच मायाले’ करिब सात वर्षअघि सार्वजनिक भएको थियो । उक्त गीतमा गायक नवराज केसीले उनलाई स्वरमा साथ दिएका थिए । मञ्जलीको स्वर रहेको दुइ वर्ष अघि सार्वजनिक तीज गीत ‘तल्ला घरे भाइ’ उनको अहिलेसम्मको चर्चित गीतमध्ये एक हो । उक्त गीतको म्युजिक भिडियो युट्युबमा करिब १० लाख पटक हेरिएको छ । यस पटक भने उनले चर्चित गायक खेम सेन्चुरीसँग पहिलो पटक सहकार्य गरेकी हुन् । लोकसंगीतमा स्थापित सेन्चुरी र पछिल्लो समय चर्चामा रहेकी बस्यालको स्वरमा आएको नयाँ गीतले दर्शक-श्रोताको कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ ।