काठमाडौं । नेपालको भूगोल, प्रकृति, संस्कृति र पर्यटनलाई क्यामेराको आँखाबाट नियाल्ने हो भने भरतबन्धु थापाको यात्रा लामो र फराकिलो देखिन्छ । दुई दशकभन्दा बढी समयदेखि फोटोग्राफीमा सक्रिय थापा फोटो पत्रकारितासँगै यात्रा लेखन र पर्यटन प्रवर्द्धनमा पनि निरन्तर क्रियाशील छन् । उनका लागि क्यामेरा केवल तस्विर खिच्ने उपकरण होइन, समाज, संस्कृति र भूगोललाई अभिलेख गर्ने माध्यम हो । विश्व फोटोग्राफी दिवसका अवसरमा थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक सम्भावना, एआई प्रविधिको प्रभाव तथा नेपालका गन्तव्यलाई तस्विरमार्फत चिनाउने अभियानबारे अनुभव सुनाए । तस्विर पहिला क्यामेराले होइन, दिमागले खिच्छ थापाका अनुसार फोटोग्राफीमा सबैभन्दा महत्वपूर्ण कुरा क्यामेरा नभई त्यसलाई प्रयोग गर्ने व्यक्तिको दृष्टि र ज्ञान हो । ‘तस्विर पहिला क्यामेराले खिच्दैन, दिमागले खिच्छ,’ उनी भन्छन्, ‘मेरो दिमागमा एउटा स्केच आउँछ यस्तो तस्विर खिच्छु भन्ने अनि त्यसपछि क्यामेरा माध्यम बन्छ ।’ उनका लागि महँगो क्यामेरा हुँदैमा राम्रो तस्विर बन्ने होइन । तस्विरमा अवधारणा, दृष्टिकोण र सिर्जनशीलता आवश्यक हुन्छ । उनी क्यामेरालाई घर बनाउन आवश्यक जग्गाजस्तै माध्यमका रूपमा व्याख्या गर्छन् । जग्गा हुँदैमा घर नबनेझैँ राम्रो क्यामेरा हुँदैमा राम्रो तस्विर नबन्ने उनको बुझाइ छ । सञ्चारमाध्यमबाट प्रकृतितर्फ थापाले प्रारम्भिक चरणमा सञ्चारमाध्यमका लागि फोटो खिचे । करिब एक दशकभन्दा बढी समय विभिन्न सञ्चारमाध्यमसँग जोडिएर काम गरेपछि उनको रुचि प्रकृति, संस्कृति, भूगोल र पर्यटनतर्फ विस्तार भयो । उनले समाचार, संस्कृति, वन्यजन्तु, प्रकृति तथा सामाजिक जीवनका विभिन्न पक्षलाई क्यामेरामा कैद गरेका छन् । नाकाबन्दीका बेला इन्धन तथा ग्यासको अभाव, दाउरा लिन लामबद्ध भएका मानिसदेखि नेपालको दुर्गम भूगोल र प्राकृतिक सम्पदासम्म उनका क्यामेराले समेटेको छ । तर आफ्नो व्यक्तिगत रुचि भने प्रकृति र प्रवद्र्धनात्मक फोटोग्राफीमा बढी रहेको उनी बताउँछन् । ‘मैले खिच्ने तस्विरहरू म आफूलाई रुचि भएको कुरा प्रवद्र्धन हुने खालका होऊन् भन्ने चाहन्छु,’ उनी भन्छन्, ‘तस्विर जहाँसुकै प्रकाशित होस्, त्यसले केही न केही राम्रो सन्देश दिओस् भन्ने लाग्छ ।’ तस्विरमा दुःखभन्दा सम्भावनाको खोजी फोटोग्राफीका विषय रोज्दा थापाको आफ्नै दृष्टिकोण छ । विश्वका जुनसुकै ठाउँमा राम्रा र नराम्रा दुवै पक्ष हुने भएपनि अभाव, पीडा र दुःखलाई मात्र केन्द्रमा राखेर तस्विर खिच्न आफूलाई त्यति रुचि नलाग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘विश्वका जुनसुकै ठाउँमा राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । तर अभाव, पीडा र दुःखलाई मात्रै केन्द्रमा राखेर तस्विर खिच्न मलाई त्यति रुचि लाग्दैन । मलाई प्रकृति, संस्कृति, सम्पदा र पर्यटनका सम्भावनालाई तस्विरमार्फत उजागर गर्न बढी रुचि लाग्छ । मैले खिचेको तस्विरले जहाँ पुगेपनि कुनै न कुनै रूपमा सकारात्मक सन्देश देओस् र सम्बन्धित ठाउँको प्रवद्र्धनमा योगदान पु¥याओस् भन्ने मेरो चाहना हो ।’ यसको सट्टा प्रकृति, संस्कृति, सम्पदा र पर्यटनको सम्भावनालाई तस्बिरमार्फत उजागर गर्नु उनको प्राथमिकता हो । त्यसैले उनका अधिकांश काममा नेपालको सुन्दरता र सम्भावना देखिन्छ । फोटोग्राफी अब जीविकोपार्जनको माध्यम थापाको अनुभवमा विगतको तुलनामा नेपालमा फोटोग्राफीको व्यवसायीकरण निकै बढेको छ । दुई दशकअघि सीमित व्यक्तिको पहुँचमा रहेको क्यामेरा अहिले आम मानिसको जीवनको अभिन्न अंग बनेको उनको बुझाइ छ । डिजिटल प्रविधि र सामाजिक सञ्जालको विस्तारले फोटोग्राफीलाई थप अवसर दिएको छ । सञ्चारमाध्यमले तस्विर प्रकाशित नगरे पनि अहिले आफ्नै डिजिटल प्लेटफर्ममार्फत तस्विर सार्वजनिक गर्न सकिने अवस्था छ । उनले भने, ‘विगतको तुलनामा अहिले फोटोग्राफी धेरै राम्रो र व्यावसायिक भएको छ । पहिला क्यामेरा निश्चित व्यक्तिहरूको पहुँचमा मात्र हुन्थ्यो, अहिले त क्यामेरा र फोटोग्राफी जीवनको अभिन्न अंगजस्तै बनेको छ । डिजिटल प्रविधि र सामाजिक सञ्जालका कारण सञ्चारमाध्यमले तस्विर प्रकाशित नगरे पनि आफ्नै प्लेटफर्मबाट संसारभर पु¥याउन सकिने अवस्था छ । त्यसैले अहिले फोटोग्राफीमा अवसर पनि धेरै बढेको छ र क्षमता तथा ज्ञान भएका व्यक्तिले यसलाई राम्रो जीविकोपार्जनको माध्यम बनाउन सक्छन् ।’ उनका अनुसार अहिले क्षमतावान र दक्ष फोटोग्राफरले फोटोग्राफीबाट आधारभूत आवश्यकता पूरा गर्ने मात्र होइन, राम्रो आम्दानीसमेत गर्न सक्छ । एआईले फोटोग्राफीलाई विस्थापित गर्ला