काठमाडौँ । करिब ११ महिनाअघिको कुरा हो । काठमाडौँको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय कुनै सरकारी कार्यालय जस्तो देखिँदैनथ्यो । त्यो त एउटा युद्ध मैदान जस्तो देखिन्थ्यो, जहाँ भर्खरै ठुलो विस्फोट भएर शान्त भएको छ । 'जेन्जी विद्रोह'को निशानामा परेपछि यो भवन जलेर खरानी भएको थियो । भित्ता काला थिए, झ्यालका सिसा फुटेर भुईँभरि छरिएका थिए । फर्निचरको नाममा केही जलेका काठका टुक्रा मात्र बाँकी थिए । जताततै बारुद र धुवाँको गन्ध गहिरो गरी गढेको थियो । ठ्याक्कै त्यही समयमा एक जना सह-सचिवले यो ध्वस्त किल्लाको कमान्ड सम्हाल्ने निर्णय गरे । गृह मन्त्रालय अन्तरगत कार्यरत करिब ७२ जना सह-सचिवमध्ये कसैले पनि यो 'उच्च जोखिम' र 'धुलाम्मे' कुर्सीमा बस्ने आँट गरेका थिएनन् । सबैलाई लाग्थ्यो, यो त एउटा असफल मिसन हो । तर, सहसचिव ईश्वरराज पौडेलले चुनौतीलाई अवसर मात्र देखेनन्, उनले त खरानीबाट नयाँ सिर्जना गर्ने सङ्कल्प गरे । जब पौडेल पहिलो दिन कार्यकक्षमा छिरे, उनले बस्ने कुर्सी समेत पाएनन् । झ्यालमा सिसा थिएन, हावा छेक्न एउटा मक्किएको प्लास्टिकको पर्दा टाँगिएको थियो । हावा चल्दा त्यो प्लास्टिकले दिने कर्कश आवाज र उडिरहेको खरानीका बिचमा उनले त्रिपालमुनि बसेरै काम सुरु गरे । त्यो 'माइनस' बिन्दुबाट सुरु भएको यात्रा आज एउटा यस्तो उचाइमा पुगेको छ, जहाँ पुग्दा कुनै सरकारी अड्डा होइन, अन्तर्राष्ट्रिय विमानस्थलको 'भिआइपी लाउन्ज' मा छिरेको आभास हुन्छ । ताल्चा फुटाउने साहस र 'मेरो र तेरो' को लडाइँ जलेको भवनमा बसेर हजारौँ सेवाग्राहीलाई सेवा दिन सम्भव थिएन । पौडेलको आँखा नजिकै रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको एउटा अधुरो भवनमा पर्यो । त्यो भवन सरकारी नै थियो, तर कर्मचारीतन्त्रको 'मेरो र तेरो' भन्ने सानो सोचले गर्दा विभागले त्यो भवन दिन मानेन । पौडेल सम्झन्छन्, 'मलाई थाहा थियो, फाइलको प्रक्रियामा जाँदा जनताले महिनौँ सास्ती पाउँछन् । मैले विभागकी महानिर्देशक डा