मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

  • मङगलबार २ भौ २०८३ १०:११ PM
काठमाडौं। मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज निर्माणको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले सरकारले मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ। आगामी भदौ २० गते मनाइने दिवसका लागि “प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारा तय गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। प्रविधिको तीव्र विस्तारसँगै मानव बेचबिखन तथा ओसारपसारका स्वरूप र माध्यमसमेत परिवर्तन भइरहेको सन्दर्भमा प्रविधिको सही प्रयोग र नागरिक सजगतालाई बेचबिखन रोकथामको महत्वपूर्ण आधारका रूपमा अघि सार्दै यस वर्षको नारा तय गरिएको हो। विशेषगरी सामाजिक सञ्जाल, अनलाइन रोजगारी तथा वैदेशिक रोजगारीका नाममा हुने झुटा प्रलोभन, ठगी र शोषणबाट नागरिकलाई जोगाउन डिजिटल माध्यमको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य नाराले बोकेको छ। मन्त्रालयका अनुसार दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण, रोकथाम, पीडितको संरक्षण तथा पुनर्स्थापना र सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सन्देश प्रवाह गरिनेछ। मानव बेचबिखन नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले सामूहिक ऐक्यबद्धतामार्फत मानव बेचबिखनमुक्त राष्ट्र निर्माणमा जोड दिइएको मन्त्रालयले जनाएको छ।