काठमाडौँ । छात्रालाई सुरक्षित आवास र अभिभावकीय वातावरण दिनुपर्ने होस्टेलमै बासी तथा अखाद्य खाना खुवाउने, अनावश्यक यातना दिने र रातको समयमा छात्रालाई होस्टेलबाट निकाल्नेसम्मको गम्भीर लापरबाही गर्ने होस्टेलमाथि कारबाही भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मापदण्ड विपरीत सञ्चालन भइरहेको कोटेश्वरस्थित न्यू फेमली गल्र्स उक्त होस्टेललाई तीन लाख रुपैयाँ जरिवाना गर्दै तत्काल सञ्चालनमा रोक लगाएर तालाबन्दी गरेको हो । प्रशासनका अनुसार अनुगमनका क्रममा होस्टेलमा छात्रालाई पटक-पटक बासी, सडेको तथा किरा परेको खाना खुवाउने गरिएको पुष्टि भएको थियो । लामो समयदेखि यस्तो खाना खान बाध्य छात्राले सञ्चालकसँग गुनासो गर्दै सुधार गर्न आग्रह गरे पनि समस्या समाधान नभएपछि उनीहरूले सामूहिक रूपमा प्रतिकार गरेका थिए । तर, छात्राको गुनासो सम्बोधन गर्नुको साटो सञ्चालकले उल्टै रातको समयमा नौ जना छात्रालाई होस्टेलबाट निकालिदिएको पाइएको प्रशासनले जनाएको छ । रातको समयमा छात्रालाई होस्टेलबाट निकालिएपछि उनीहरूको सुरक्षा र आवासको विषय गम्भीर बनेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेपछि प्रशासनले तत्काल हस्तक्षेप गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले छात्राको स्वास्थ्य र सुरक्षामाथि गम्भीर खेलबाड गरेको पाइएपछि होस्टेलमाथि कारबाही गरिएको समता प्रेससँग बताए । ‘छात्रा-छात्राको स्वास्थ्य र सुरक्षामाथि खेलबाड गर्ने कुनै पनि होस्टेललाई प्रशासनले छुट दिँदैन,’ उनले भने, ‘अखाद्य खाना खुवाउने, मापदण्ड पालना नगर्ने र छात्रामाथि दुर्व्यवहार गर्ने प्रवृत्तिमाथि कडा निगरानी र कारबाही हुन्छ ।’ काठमाडौँका अन्य क्षेत्रमा समेत यस्ता घटना हुन नदिन होस्टेलको अनुगमनलाई प्रभावकारी बनाइने पौडेलले बताए । उनले विद्यार्थीको स्वास्थ्य, सुरक्षा र सम्मानमा खेलबाड गर्ने कुनै पनि होस्टेलमाथि तत्काल कारबाही हुने स्पष्ट पारे । होस्टेलविरुद्ध उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रहरी प्रभाग कोटेश्वर, काठमाडौँ महानगरपालिका र होस्टेल व्यवसायी सङ्घसमेतको संयुक्त टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा होस्टेलमा पकाइएको खानामा किरा भेटिनुका साथै अत्यधिक अखाद्य खाना तयार गरी विद्यार्थीलाई खुवाउने गरिएको पाइएको प्रशासनले जनाएको छ । विद्यार्थीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य सुरक्षामा गम्भीर लापरबाही देखिएपछि प्रशासनले तत्काल कारबाही प्रक्रिया अघि बढाएको हो । अनुगमनका क्रममा खाद्य गुणस्तरमा मात्रै समस्या नभई होस्टेलको सञ्चालन तथा व्यवस्थापनमा समेत गम्भीर कैफियत भेटिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता खिमराज भुसालका अनुसार होस्टेलमा छात्रालाई अनावश्यक यातना दिने, आवश्यक सङ्ख्यामा वार्डेन नराख्ने, सम्बन्धित वडामा दर्ता नगरी सञ्चालन गर्ने तथा रातको समयमा छात्रालाई होस्टेलबाट निकाल्नेजस्ता समस्या भेटिएका थिए । ‘होस्टेलमा खाद्य सुरक्षादेखि व्यवस्थापनसम्मका गम्भीर कैफियत भेटिएपछि सञ्चालनमै रोक लगाइएको हो,’ प्रवक्ता भुसालले समता प्रेससँग बताए ।