बिराटनगर । कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलित र महिलाको प्रतिनिधित्व गराउँदै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरेका छन्। सुनसरी र मोरङका देहातदेखि पहाडी कान्लामा गीत गाउँदै, नाच्दै र परिवर्तनको सपना बाँड्दै हिँडेकी सपना अब प्रदेश सरकारको नीति निर्माण गर्ने थलोमा पुगेकी हुन्। तर उनका लागि यो यात्रा सजिलो भने थिएन। यसको जगमा २०५६ सालदेखि सुरु भएको एउटा लामो र कष्ट साध्य जनयुद्धको इतिहास, जेल-नेलको त्रास र मृत्युलाई नजिकैबाट देखेका आँखा छन्। गीत र सङ्गीतबाट पनि समाज बदल्न सकिन्छ भनेर राजनीतिक यात्रामा सपनाको राजनीतिक यात्रा २०५६ सालमा सुरु भएको हो । त्यति बेला देशमा माओवादीले सुरु गरेको ‘जनयुद्ध’ उत्कर्षतिर लम्किँदै थियो । सानै उमेरमा सामाजिक विभेद र दलित समुदायमाथिको अन्यायलाई नजिकैबाट भोगेकी सपनालाई लाग्यो, ‘गीत र सङ्गीतबाट पनि समाज बदल्न सकिन्छ ।’ उनी जन सांस्कृतिक टोलीमा आबद्ध भइन् । हातमा बन्दुक मात्र थिएन, उनको काँधमा मादल र झ्याली पनि हुन्थ्यो । सुनसरी र मोरङका बस्ती-बस्तीमा पुगेर जनवादी गीत गाउँदा उनलाई लाग्थ्यो, साँचो परिवर्तन अब धेरै टाढा छैन । सांस्कृतिक टोलीमार्फत गाउँदै र नाच्दै हिँड्ने क्रममा उनी विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा पनि सक्रिय भइन् । ६ कक्षामा पढ्दादेखि नै उनी सङ्गठनको माहौलमा रमाइन् । पछि उनी सुनसरी जिल्लाको सांस्कृतिक टोलीको सचिवसम्म बनिन् । खेतको आली र झाडीमा लुक्दै, लुक्दै धेरै पटक ज्यान बचाइन् २०५८ सालतिर जब देशमा सङ्कटकाल लाग्यो, सपनाका लागि दिन निकै चुनौतीपूर्ण बने । सुरक्षा निकायको नजरमा उनी ‘विद्रोही’ थिइन । धेरै पटक उनी पक्राउ पर्नबाट जोगिइन् । कतिपय अवस्थामा त सँगै हिँडेका साथीमाथि गोली बर्सिन्थ्यो, कोही ढल्थे, कोही मारिन्थे । तर, सपना भने हरेक पटक संयोगले जोगिन्थिन् । ‘म सानो मान्छे, उमेर पनि कम, त्यसैले दुस्मनको नजरमा म अलि कमै परेँ होला,’ उनी पुराना दिन सम्झिँदै भन्छिन्, ‘खेतको आली र झाडीमा लुक्दै, लुक्दै धेरै पटक ज्यान बचाइयो । मसँगै हिँडेका कति साथीहरू आज यो संसारमा हुनुहुन्न ।’ उनी २०५७ सालदेखि अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मा पनि आबद्ध भइन् । महिला सङ्गठन र सांस्कृतिक टोली दुवैलाई उनले सँगसँगै अगाडि बढाइन् । उनी भन्छिन्, ‘पार्टीमा मान्छेको कमी थियो, एउटै व्यक्तिले धेरै जिम्मेवारी सम्हाल्नुपर्थ्यो । म पनि जिल्ला सदस्य, सचिव हुँदै २०५९-६० तिर महिला सङ्घ क्रान्तिकारी सुनसरीको जिल्ला अध्यक्षसम्म भएँ । दुई पटक बन्द सूचीमै नाम सीमित, २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित शान्ति प्रक्रिया सुरु भएपछि सपनाको राजनीतिले नयाँ मोड लियो । उनी भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आइन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी समानुपातिक सूचीमा थिइन् । तर, नाम पछाडि परेका कारण उनी सदनसम्म पुग्न पाइनन् । ‘दुई पटक अवसर आएर पनि नपाउँदा अलिअलि त नमिठो लाग्दो रहेछ, तर हार मानिनँ,’ उनी भन्छिन् । अन्ततः २०७९ सालको प्रदेश सभाको निर्वाचनमा उनी दलित महिलातर्फ कोसी प्रदेश सभा सदस्य निर्वाचित भइन् । सदनमा छिरेपछि उनले आफूलाई एउटा खरो र तार्किक सांसदको रूपमा स्थापित गरिन् । सदनमा चल्ने ऐन र विधेयकमाथिको छलफल होस् वा शून्य समय, सपनाले सधैँ सीमान्तकृत र उत्पीडित समुदायको पक्षमा आवाज बुलन्द पारिन् । पछिल्लो एक वर्षको समयावधिमा उनले पार्टी संसदीय दलको सचेतकको भूमिका पनि सफल रूपमा पुरा गरिन् । फुल मन्त्री नहुँदा राज्यमन्त्रीकै रूपमा भए पनि काम गरेर देखाउने अठोट कोसी प्रदेशमा हिक्मत कार्कीको नेतृत्वमा सरकार बन्दा सपनाले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाइन् । उनी भन्छिन्, ‘पार्टीको सचेतकको भूमिकामा रहँदा सदनको मोर्चा सम्हालेकी थिएँ, अब कार्यपालिकाको मोर्चामा छु ।’ यद्यपि, उनी एउटा विषयमा भने अझै सन्तुष्ट छैनन् । कोसी प्रदेशको इतिहासमा अहिलेसम्म क्याबिनेट (फुल मन्त्री) स्तरमा दलित समुदायको प्रतिनिधित्व हुन नसक्नुलाई उनी विडम्बना मान्छिन् । ‘दलितलाई सधैँ राज्यमन्त्रीमा मात्रै सीमित राखिनु समावेशी सिद्धान्तको पूर्ण पालना होइन,’ उनी थप्छिन्, ‘मेरो पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समावेशिताको मुद्दा उठाए पनि क्याबिनेट स्तरमा दलित नपुग्नु दुखद हो । तैपनि, राज्यमन्त्रीकै रूपमा भए पनि काम गरेर देखाउने अठोट छ ।’ भौतिक विकाससँगै मानवीय विकास र सामाजिक न्यायलाई जोडेर लैजाने भौतिक पूर्वाधार मन्त्रालय भन्ने बित्तिकै मान्छेले ठुला-ठुला सडक र पुल मात्र सम्झिन्छन् । तर, राज्यमन्त्री सपना दर्जीको सोच फरक छ । उनले पदभार ग्रहण गर्दा नै केही खास एजेन्डा मनमा बोकेकी छिन्, जसमा कोसी प्रदेशमा अहिलेसम्म दलित अधिकार ऐन आउन सकेको छैन । उनले क्याबिनेटमा यसलाई चाँडै टेबल गराउने र पारित गराउने लक्ष्य राखेकी छिन् । दोस्रोमा पहुँचवालाले त बाटो र बजेट ल्याइहाल्छन्, तर दलित, उत्पीडित र सुकुम्वासी बस्ती जहाँ सधैँ डुबान हुन्छ, त्यहाँको पूर्वाधार विकासमा उनको प्राथमिकता रहनेछ । तेस्रोमा भौतिक विकाससँगै मानवीय विकास र सामाजिक न्यायलाई जोडेर लैजाने उनको सपना छ । ‘बाटो मात्रै बनाएर हुँदैन, त्यो बाटोले जनताको जीवनस्तर पनि उकास्नुपर्छ,’ उनी भन्छिन् । चौथो विदेश पलायन भइरहेका युवालाई आफ्नै प्रदेशमा भौतिक निर्माणका काममा जोडेर रोजगारी दिने नीतिगत पहल गर्ने उनको योजना छ । बाँकी रहेको कार्यकालमा आफ्नो समुदाय र प्रदेशका जनताका लागि काम गरेर देखाउने अठोट जनवादी कलाकारका रूपमा सुरु भएको उनको यात्रा आज राज्यमन्त्रीको कुर्सीसम्म आइपुगेको छ । तर, उनका पाइला अझै पनि त्यही धुलाम्य बस्ती र सीमान्तकृत टोल तिरै सोझिएका छन् । सपना दर्जीका लागि यो पद प्रतिष्ठा मात्र होइन, वर्षौँदेखि दबिएका आवाजलाई न्याय दिने एउटा अवसर हो । उनी भन्छिन्, ‘म मन्त्री मात्रै भएकी होइन, एउटा उत्पीडित समुदायको सपना बोकेर यहाँसम्म आएकी हुँ । यो एक वर्ष वा जति कार्यकाल रहन्छ, म मेरो समुदाय र प्रदेशका जनताका लागि काम गरेर देखाउनेछु ।’