काठमाडौँमा गणेश नेपालीले आत्मदाह गरेपछि उनको मृत्यु लामो समयसम्म समाचार र सामाजिक सञ्जाल हुँदै संसद्मा समेत बहसको विषय बन्यो। उनको मृत्युको पृष्ठभूमि, राज्यसँग जोडिएको विवाद, उनले भोगेको परिस्थिति र त्यसपछि उठेका प्रश्नमाथि धेरै कुरा लेखिए, बोलिए र बहस भइरहेका छन्। र, त्यो घटना सेलाउन नपाउँदै देशका विभिन्न ठाउँबाट आत्महत्याका समाचारहरू लगातार सुनिन थालेका छन्। कुनै ठाउँमा आर्थिक समस्याको चर्चा थियो, कतै पारिवारिक तनावको। पात्र फरक थिए, ठाउँ फरक थिए, परिस्थितिहरू फरक थिए। तर समाचारको अन्त्य प्रायः एउटै थियो—एक जना मानिस अब यो संसारमा हुनेछैन। एउटा घटनापछि त्यस्तै प्रकृतिका समाचार बढी देखिनु त्यसै घटनाका कारण आत्महत्या बढेको प्रमाण होइन। गणेश नेपालीको घटनापछि आएका अन्य घटनालाई पनि उनको मृत्युसँग प्रत्यक्ष जोडेर हेर्न सकिँदैन। तर यस्ता घटनाको लगातार उपस्थितिले भने नेपालमा आत्महत्या कति गम्भीर सामाजिक र सार्वजनिक स्वास्थ्यको समस्या बनिसकेको छ र हामीले यसबारे समाचार तथा सामाजिक सञ्जालमा कस्तो भाषा प्रयोग गरिरहेका छौँ भन्ने प्रश्नको उत्तर खोज्न ढिला गरिनु हुँदैन भन्ने प्रमाण देखाइरहेको छ। एउटा समाचारपत्रको पृष्ठमा छापिएको सामग्री केही मिनेटमै हजारौँ फेसबुक पोस्ट, टिकटक भिडियो, युट्युब सामग्री र व्यक्तिगत टिप्पणीमा पुग्छ। समाचारको सीमा समाचारकक्षमा समाप्त हुँदैन। एउटा व्यक्तिको मृत्यु सार्वजनिक भएपछि त्यसको कथा पत्रकारले मात्र होइन, हामी सबैले पुनःलेखन गर्न थाल्छौँ। त्यसैले आत्महत्याको समाचारमा जिम्मेवारी पत्रकारको मात्र होइन- समाचार संस्था, सम्पादक, फोटो पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता, सामग्री बनाउने व्यक्ति, परिवार, राज्य र समाज सबैको हो। नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने २०८१/८२ मा नेपालमा दैनिक १९–२० जनासम्मले आत्महत्या गर्ने अवस्था रहेको जनाएको थियो। त्यो संख्या आफैँमा ठूलो सार्वजनिक स्वास्थ्य चिन्ता हो। केवल तथ्यांकका रूपमा पढ्दा त्यसको मानवीय अर्थ हराउन सक्छ। तर हरेक दिन १९–२० वटा परिवारमा आउने मौनता हो। आत्महत्या एउटा व्यक्तिको मृत्यु हो, तर त्यसको असर एउटा व्यक्तिमै सीमित हुँदैन। परिवार, साथी, सहकर्मी, छिमेकी र समुदायसम्म त्यसको तरंग पुग्छ। त्यसैले आत्महत्यालाई केवल प्रहरीको घटना विवरण, अपराध समाचार वा एउटा ‘ब्रेकिङ’ शीर्षकमा सीमित गर्नु समस्याको गहिराइलाई सानो बनाउनु हो। विश्व स्वास्थ्य संगठनले आत्महत्यालाई एउटै कारणले व्याख्या गर्न नसकिने जटिल विषयका रूपमा हेर्छ। सामाजिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्षहरू एकअर्कासँग जोडिन सक्छन्। त्यसैले ‘प्रेममा असफल भएर’, ‘ऋणका कारण’, ‘परीक्षामा फेल भएर’ वा ‘पारिवारिक विवादपछि’ भनेर एउटा मात्र कारण लेखेर कथा बन्द गर्नु कहिलेकाहीँ तथ्यभन्दा बढी अनुमान हुन सक्छ। मानिसको अन्तिम केही घण्टाले उसको सम्पूर्ण जीवन बताउँदैन। गणेश नेपालीको मृत्यु पनि यही जटिलताको एउटा उदाहरणका रूपमा हेर्न सकिन्छ। उनको मृत्युको तत्कालीन घटनाक्रमबारे तथ्य, अनुसन्धान र राज्यको जिम्मेवारीबारे प्रश्न उठ्नुपर्छ। तर उनको जीवनको अन्तिम निर्णयलाई केवल एउटा प्रशासनिक घटना वा एउटा विवादले व्याख्या गरिदिनु पर्याप्त हुँदैन। पत्रकारिताले यहाँ एउटा कठिन सन्तुलन खोज्नुपर्छ—घटनाको सार्वजनिक महत्वलाई लुकाउनु हुँदैन, तर मानिसको सम्पूर्ण जीवनलाई एउटा शीर्षकमा सीमित पनि गर्नु हुँदैन। यही ठाउँमा पत्रकारिता र सनसनीबीचको सीमा छुट्टिन्छ। एउटा जिम्मेवार पत्रकारले ‘के भयो