काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोकिनुको साटो यसको स्वरुप झन् विस्तार हुँदै गएको भनी सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा भाग लिदै उनले मानव बेचबिखनजस्तो अमानवीय र राष्ट्रिय लज्जाको विषयलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने बताए । सचेतक परियारले विभिन्न प्रतिवेदनअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी नेपाली महिला, बालबालिका र युवा बेचबिखनका साथै आधुनिक दासताको शिकार भइरहेकाले यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भने, “हिजोसम्म भारतका कोठीमा सीमित यो अपराध, आज वैदेशिक रोजगारी, अध्ययन भिसा र सामाजिक सञ्जालको दुरुपयोग गर्दै खाडी, अफ्रिका र एसियाका साइबर स्क्याम सेन्टरसम्म फैलिएको छ । यो अपराधको स्वरूप परिवर्तन हाम्रो सुरक्षा प्रणालीका लागि ठूलो चुनौती पनि हो ।” सचेतक परियारले गरिबी, बेरोजगारी, आवश्यक सूचनाको कमी, खुला सिमाना, फितलो अनुगमन, दलालको बदलिँदो शैली र पहुँचका आधारमा अपराधीलाई संरक्षण दिने प्रवृत्तिका कारण यो समस्यामा कमी आउन नसकेको पनि उल्लेख गरे । उनले त्यस खाले अपराधको नियन्त्रणका लागि सिमानामा कडाइ, पीडितलाई छिटो न्याय र क्षतिपूर्ति, दलाललाई कानुनी कारबाही, सम्बद्ध देशमा कूटनीतिक पहल र श्रम गन्तव्य मुलुकसँग सम्झौता गरी उद्धार संयन्त्रलाई बलियो बनाउनुपर्ने सुझाव दिए । स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्ने र उद्धार गरिएका पीडितको दीर्घकालीन पुनःस्थापना गर्ने कार्य उक्त अपराध नियन्त्रणको दिगो समाधानको उपाय हुनसक्ने उनको सुझाव थियो ।