स्याङ्जा । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन् । उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन् । यतिखेर सार्की परिवारको जीवन गुजाराको प्रमुख आधार अकबरे खुर्सानी बनेको छ । बाँदरले नखाने, बजार मूल्य राम्रो र खेती गर्न सरल हुने भएकाले उनले अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेका हुन् । '१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरु लगाएको छु,' उनले भने,'अहिले त आम्दानी लिन थालिसकेको छु ।' उनले हालसमम ८०० केजी खुर्सानी प्रतिकेजी २०० का दरले बिक्री गरिसकेका छन् । उनले छोटो अवधिमा खुर्सानी बिक्रीबाट रु एक लाख ६० हजार आम्दानी बटुलिसकेका छन् । 'यहाँ उत्पादित खुर्सानी बिक्रीका लागि बजारको समस्या छैन,' उनले भने,'स्थानीय र पोखराका बजारमा खुर्सानी बिक्री हँदै आएको छ । चार वर्ष मलेसियमा काम गरेका उनले अन्ततः आफ्नै गाउँमा खुर्सानी खेती गरी सन्तोष जनक आम्दानी गरेका छन् । बाँझो जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको मनबहादुर सार्कीले दिएका छन् ।