सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताएका छन्। मुख्यमन्त्री भट्टले सीमित स्रोतसाधनको अधिकतम् सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकता दिइने बताए। “पक्कै हामी फरक ढङ्गले काम गर्नेछौँ। बेथिति अन्त्य, भएको बजेट र स्रोतको अधिकतम सदुपयोग, टुक्रे होइन, जनताले अनुभूति गर्ने योजना, शिक्षा र स्वास्थ्यमा सुधारलगायत क्षेत्रमा लगानी गर्छौं”, उनले भने। आफू नेतृत्वमा रहँदा वा जिम्मेवारीबाट बाहिरिँदा कुनै प्रश्न नउठ्ने गरी काम गर्ने बताउँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारको गरिमा र सङ्घीयताको सबलीकरणमा जोड दिने उल्लेख गरे। उनले आगामी बजेट निर्माणमा नागरिकका सुझाव र विज्ञहरूको दृष्टिकोणलाई समेत समेटिने बताए। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता भट्ट गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री नियुक्त भएका हुन्। उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः सङ्घीयता कार्यान्वयनमा आएपछि दोस्रोपटक निर्वाचित प्रदेशसभाको धेरै समय बाँकी छैन। प्रदेशसभा, प्रदेश सरकार र पुराना दलको भूमिकामाथि विभिन्न टिप्पणी भइरहेका बेला तपाईं मुख्यमन्त्री बन्नुभएको छ। यो समयलाई कसरी उपयोगी बनाउने सोच बनाउनुभएको छ