खेलकुदको नारामा अनुशासन कहिल्यै छुट्दैन। अनुशासन भनेको थिति र मर्यादाको पालना हो। नेपालको खेलकुद क्षेत्रमा भने बेथितिमात्रै व्याप्त देखिन्छ। हाम्रा खेलाडी प्रतिभावान् छन्, तर प्रशासन र व्यवस्थापनको पाटो लथालिंग र भताभुंगमात्र छैन, चरम राजनीतीकरण र व्यक्तिगत टकरावको कुस्तीले खेल क्षेत्र थिलोथिलो बनेको छ।पदाधिकारीका स्वार्थले खेलाडीहरू शोषित र पीडित छन्। न्याय माग्न खेलाडीले अदालतकै दैलो ढकढक्याउन पुग्नुपर्ने अवस्थाले हाम्रो खेल क्षेत्रको दुर्लभ दुर्दशालाई उजागर गरेको छ, जुन सायदै अन्त कतै होला। &