काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सफ्टवेयर डेभलपमेन्ट एण्ड अपरेसन सेन्टर (एसडीओसी)ले आफ्नै जनशक्तिबाट सेवा तथा शासनसँग सम्बन्धित प्रणाली विकासबाट नतिजा दिन थालेको छ । यस क्रममा महानगरपालिकाले प्रवाह गर्ने, सूचना, निर्णय तथा सेवाहरूलाई थप पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ साविकको वेबसाइटलाई समयसापेक्ष रूपान्तरण गर्दै अत्याधुनिक इन्टरफेसमा नयाँ वेबसाइट सार्वजनिक गरिएको छ । पहिलेको डिजाइन तथा विवरणलाई अद्यावधिक गर्दै आफैँले प्रणाली विकास गरेको हो । प्रणाली सञ्चालनको शुभारम्भ गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुधारिएको प्रणालीबाट नागरिकसँग जोडिन थप सरल र सहज हुने विश्वाश व्यक्त गर्नुभयो । ‘नागरिकसँग जोडिएका सूचना, जानकारी तथा विवरणलाई प्राथमिकतामा राखेर पुनःनिर्माण गरिएको प्रणाली प्रयोगकर्तामैत्री छ ।’ डंगोलको भनाइ छ । प्रणाली विकासमा परनिर्भर हुनु पर्ने विगत स्मरण गर्दै उहाँले भन्नुभयो, ‘आन्तरिक जनशक्तिबाट प्रणाली विकास हुनु महत्वपूर्ण उपलब्धि हो । यसलाई अद्यावधिक गर्न वाह्य जनशक्ति नचाहिने भएकोले चाहेको समयमा आवश्यकता अनुसार सुविधा, सेवा, विवरण, ढाँचा र डिजाइन परिवर्तन गर्न सकिन्छ । यसले प्रणाली थप सुदृढ हुँदै जानेछ ।’ पुरानो शैलीलाई पूर्ण रूपमा प्रतिस्थापन गर्दै नयाँ वेबसाइटलाई आधुनिक वेब आर्किटेक्चर, उच्च सुरक्षा सहितको बलियो प्रविधि पूर्वाधारका रुपमा विकास गरिएको सूचना प्रविधि विभागका प्रमुख बलराम त्रिपाठीको भनाइ छ । सेन्टरका प्रोजेक्ट म्यानेजर अंकित श्रीवास्तवका अनुसार नवीनतम प्रविधिको प्रयोग गरिएकोले प्रणाली डाइनामिक र रस्पोन्सिभ छ । आन्तरिक प्रणालीमा रहने भएकोले तथ्याङ्क सुरक्षा यसको सबैभन्दा महत्वपूर्ण पक्ष हो । प्रणालीलाई पहुँचयुक्त बनाउन विशेष क्षमता भएका नागरिकहरूका लागि प्रयोग गर्न मिल्ने सुविधा राखिएको छ । सर्च इन्जिन अप्टिमाइजेसन गरेर सर्च इन्जिनहरूमा महानगरका आधिकारिक सूचना तथा फारामहरू सहजै भेटिने बनाइएको छ । रेस्पोन्सिभ इन्टरफेसमा तयार गरिएकोले स्मार्टफोन, ट्याब्लेट तथा कम्प्युटर सबैमा दुरुस्त हेर्न र प्रयोग गर्न सकिन्छ । वेबसाइट मार्फत प्रवाह गरिने सूचना तथा यस प्रणालीमार्फत सेवामा आवद्ध गराउनु सेवा सहजता र विद्युतीय शासनका कोणबाट महत्वपूर्ण काम हो । यसबाट अनलाइ सेवालाई बढाउने, उत्तरदायी सरकारका दायित्व पूरा गर्दै पारदर्शिता, सूचनाको हकको प्रभावकारी कार्यान्वयन र नागरिक सेवालाई पेपरलेस, फेसलेस बनाउन वेबसाइटले योगदान गर्नेछ ।