जाजरकोटका बाढी पीडितलाई कर्णाली प्रदेश सरकारले राहतमा के पठायो ?

  • आइबार​ ३१ साउन २०८३ ०६:०५ PM
सुर्खेत । जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोबाट विस्थापित तथा विपद्का लागि कर्णाली प्रदेश सरकारले आपतकालीन राहत सामग्री पठाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको निर्देशनमा प्रदेश सरकारले पहिरो प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा गैरखाद्य सामग्री पठाएको हो ।  पहिरोका कारण घर तथा बस्ती जोखिममा परेपछि सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री पठाइएको प्रदेश सरकारले जनाएको छ  । प्रदेश सरकारबाट पठाइएको राहत सामग्रीमा चामल ४ क्विन्टल, चिउरा ५० केजी, त्रिपाल १५० थान, प्लास्टिक रोल २ रोल, पिफर्म टेन्ट २० थान र ब्लाङ्केट १८५ थान रहेका छन् । राहत सामग्री विपद्बाट प्रभावित तथा विस्थापित परिवारको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै पठाइएको प्रदेश सचिव लक्ष्मी कुमार बिकले बताए ।  भेरी नगरपालिका–२ रिसाङमा पछिल्लो समय गएको पहिरोका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्।  पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएपछि उनीहरूको खाद्यान्न, आवास तथा स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्थानीय तह, जिल्ला प्रशासन तथा सुरक्षा निकायले उद्धार र राहतका कामलाई निरन्तरता दिएका छन् ।