अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीका पूर्वाधारको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेका छन्। अर्घाखाँचीको शितगंगा नगरपालिका-८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दिगोपनामा ध्यान दिनुपर्ने बताए। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले खानेपानी क्षेत्रमा लगानी बढाउँदै गएको भन्दै निर्माण भएका आयोजनालाई दीर्घकालीन र प्रभावकारी रुपमा सञ्चालन गर्न उपभोक्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले खानेपानीका संरचनाको नियमित मर्मतसम्भार, खानेपानी पाइपको सुरक्षा तथा संरक्षणका लागि उपभोक्ता समितिहरू जिम्मेवार बन्नुपर्ने बताए।