काठमाडौँ। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले आफूमाथि लागेका विभिन्न आरोपहरू गलत साबित भएको भन्दै न्यायको जित भएको बताएका छन्। उनले आफूमाथि नियोजित ढङ्गले लगाइएका आरोप, अपमान र आत्मसम्मानमाथिका प्रहारहरू निष्तेज भएको बताए। वादीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा परेको थियो। केही दिनअघि मात्रै विशेष अदालतले उनलाई सफाइ दिएको छ। झुटो आरोप लगाएर आफूलाई बद्नाम गर्ने प्रयास भएपनि अदालतबाट सफाइ पाएको भन्दै मेयर वादीले आफूमाथि लगाइएका आरोपहरू व्यक्ति विशेषमा मात्र सीमित नभई एउटा सिङ्गो इतिहास बोकेको उत्पीडित वर्ग, जाति, र दलित तथा सीमान्तकृत समुदायको नेतृत्वमाथि हुँदै आएको व्यवहारको उदाङ्गो स्वरुप भएको बताए। वादीले सामाजिक सञ्जालमा भनेका छन्- 'अपमानका तिखा बाण र षड्यन्त्रका जालहरू बुनिए पनि म झुकिनँ, बिकिनँ र डराइनँ, मानसिक पीडाका रातहरू आए पनि मैले सत्यको बाटो र न्यायमाथिको विश्वास मर्न दिइनँ।' उनले उत्पीडित समुदाय र वर्गबाट नेतृत्वमा पुगेपनि असफल बनाउन यस्तै हर्कतहरू हुने गरेको गुनासो समेत गरे। झुटका पर्खालहरू भत्किएर आततायी सोच पराजित भएको उल्लेख गर्दै मेयर वादीले यो विजय आफ्नो मात्र नभई अन्यायविरुद्ध उभिने हरेक आवाज र स्वाभिमानको विजय भएको बताए। आफूमाथि लागेका आरोपहरूसँगै सम्पूर्ण उत्पीडितहरूको सम्मानका लागि लडेको बताउँदै उनले न्याय ढिलो हुन सक्ने तर कहिल्यै नमर्ने र सत्यलाई सदाका लागि हराउन नसकिने धारणा व्यक्त गरे।