सुर्खेत। जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् । साउन ३० गते शनिबार बिहान परेको अविरल वर्षाका कारण भेरी नगरपालिका २ रिसाङस्थित विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोमा परेर भेरी नगरपालिका २ का ६० वर्षीया रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, भेरी नगरपालिका २ चिसापानी ५७ वर्षीया भद्राकली कार्की, भेरी नगरपालिका १ डौरीकाँडा ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक, भेरी नगरपालिका २ बस्ने ५२ वर्षीयन केदार कार्की, सोही स्थानकी २३ वर्षीया अनिता कार्की, लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । त्यस्तै, पहिरोमा परे भेरी नगरपालिका २ फारुलाका ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका २ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका २ का ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको र उद्धारका लागि ५० जनाको प्रहरीको टोली, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ५० जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।