काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताएका छन् । महर्षि कलेज सामाखुशीले आज यहाँ आयोजना गरेको ‘स्वागत अभिमुखीकरण तथा सांस्कृतिक’ कार्यक्रममा उनले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सूचना प्रविधिमार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवालाई आग्रह गरे । उनले शिक्षा सँगसँगै मानसिक स्वास्थ्यलाई पनि विद्यार्थीले ख्याल दिनुपर्ने बताए । शिक्षा विकास तथा इकाई समन्वय काठमाडौँका प्रमुख सुरेश जोशीले छोटो समयमा महर्षि विद्यालयले नेपालको शिक्षा क्षेत्रमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे । शिक्षा भनेको व्यक्तिभित्र रहेको प्रतिभालाई उजागर गरेर देखाउने माध्यम भएको उनको भनाइ थियो । कलेज सञ्चालक समितिका अध्यक्ष एवं पूर्वसांसद प्रकाशचन्द्र दवाडीले २० वर्षको इतिहास बोकेको महर्षि कलेजले नेपालको शिक्षा क्षेत्रको विकासमा निरन्तर काम गर्दै आइरहेको बताए । कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियार, बेलिमाया पुलामीमगरलगायतले सांस्कृतिक प्रस्तुति गरेका थियो भने विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरिएको थियो ।