बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

  • शनिबार ३० साउन २०८३ ०२:१३ PM
बैतडी । घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन् । बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टका  ५० घार मौरी छन् । पच्चीस वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध विष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आएका छन् । स्थानीय बजार र जिल्लाबाहिर पनि मह बिक्री हुने गरेको छ ।  बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको विष्ट बताउछन् । “लामो समयदेखि मौरीपालन गरेको हुँ । व्यवसाय बढाउँदै यहाँसम्म ल्याइपुर्याएको छु । घार राख्ने ठाउँ नभएर सडक किनार र भिरपाखामा पनि राखेको छु”, विष्टले भने । युवापुस्ता रोजगारीको खोजीमा विभिन्न मुलुकतिर गएका बेला विष्ट भने मौरीपालन व्यवसायमा रमाइ रहएका छन् । मह बेचेर नै उहाँले घरपरिवार धानिरहेका छन् । बजारको कुनै समस्या छैन । स्थानीय बजारमै १५ सय रूपैयाँ प्रतिकिलो मह बिक्री हुने गरेको छ । वर्षमा अढाइदेखि तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । “चैत–वैशाखको बीचमा एकपटक र कात्तिक–मङ्सिरमा दोस्रोपटक गरी दुईपटक मह निकाल्छु, एकपटक निकाल्दा एक क्विन्टल बढी हुन्छ”, उनले भने, “हालसम्म उत्पादन हुँदै आएको महले बजार पनि पाइरहेको छ ।” आम्दानीको राम्रो सम्भावना भए पनि परम्परागत तरिकाले मौरीपालन गरिरहेकाले मौरी जोगाउन निकै कठिन हुने गरेको छ । “आधुनिक घारहरू छैनन्”, उनले भने, “काठको परम्परागत घारहरूमा जङ्गली जनावर मलसाप्रो र वर्षात्को समयमा चिसोबाट पनि बचाउन सकस हुने गरेको छ ।”  पछिल्लो समयमा तरकारी खेतीमा प्रयोग हुने विषादीले चुनौती थपिएको विष्टले बताए । “मौरीहरू फुल फुलेको ठाउँमा पुग्छन् । तरकारीखेतीमा विषादीको प्रयोगले मौरी पनि मर्ने गरेका छन् ।”, उनले भन । उनि मौरीपालनसँगै बाख्रापालनमा पनि व्यस्त रहेका छन् ।