काभ्रेपलाञ्चोक । नुवाकोटको थानाभन्ज्याङमा बस र इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी इकबाल हवारीका अनुसार शनिबार बिहान पौने ९ बजे नुवाकोट शिवपुरी ७ थानाभन्ज्याङको टोखा-छहरे सडक खण्डमा रोकी राखेको बस अचानक गुडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काठमाडौंबाट दुप्चेश्वरतर्फ जादै गरेको बाप्र ०८–००१ ख ००५२ न को बस सडक छेउमा रोकी चालक र यात्रुहरू खाजा खान गएका बेला आफैं गुडेको थियो । सो बसले रोकीरहेको बाप्र ०३–००१ ज ११७६ नम्बरकको खाली इभी भ्यानलाई पनि ठक्कर दिएको थियो । दुवै गाडी सडकबाट ३०/४० मिटर तल खसेका छन् । दुर्घटनामा बसमा रहेका ५ जना महिलामध्ये काभ्रेपलाञ्चोकको बनेपा ८ बस्ने वर्ष ५४ की कृष्णमाया प्रजापती डंगोल र रामेछाम ठाडादेवी २ बस्ने वर्ष ६५ की उदयमाया खत्रीको मृत्यु भएको छ । बसका रहेका लालबन्दी ९ घर भई हाल काठमाण्डौ काँडाघाँरी बस्ने वर्ष २५ की सुजता पोखरेलको दाहिने हातमा चोट लागेको छ भने काभ्रेको बनेपा १० बस्ने वर्ष ४२ की सर्मिला श्रेष्ठको बायाँ हातमा चोट लागेको छ । दोलखाको मेलुङ ६ घर भई हाल काठमाडौं काँडाघाँरी बस्ने बर्ष ६० की ज्ञानु श्रेष्ठको टाउकोमा र ढाडमा चोट लागेको छ । घाइते तीनै जनाको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस रोकेर यात्रुहरू खाजा खान गएकोले बसमा सवार यात्रु संख्या यकिन नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी हवारीका अनुसार बस चालक काभ्रे पाँचखाल ७ बस्ने वर्ष ४५ को सिताराम आचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।