काठमाडौं । जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित तीन दिने युवा सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । जलवायु परिवर्तनसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले आयोजित ‘लोकल कन्फरेन्स अफ युथ नेपाल २०२६’मा सातवटै प्रदेशका एक सय ८० भन्दा बढी युवाको सहभागिता छ । नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल को आयोजनामा भएको सम्मेलन संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) को आधिकारिक बालबालिका तथा युवा समूहको समर्थनमा भएको हो । जलवायु युवा अभियन्ता दीक्षा सुवेदीले युवाले जलवायु परिवर्तनका क्षेत्रमा क्षमता अभिवृद्धि, नीतिगत सुझाव निर्माण र स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने विषयमा केन्द्रित रही छलफल हुने जानकारी दिइन् । सम्मेलनमा जलवायु प्रक्रियामा युवा र बालबालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तीकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाइ, स्वच्छता, जल सुरक्षा तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलगायत विषयमा छलफल हुने जानकारी दिइएको छ । नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे तापनि जलवायु परिवर्तनका कारण बाढी, पहिरो, पानीको अभाव तथा हिमाली र ग्रामीण क्षेत्रमा जीविकोपार्जनमा समस्या भोगिरहेको छ । यस्ता चुनौतीको समाधानका लागि स्थानीयस्तरमा युवाले गरिरहेका प्रयास र आवाजलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय जलवायु निर्णय प्रक्रियासँग जोड्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उनले बताइन् । सम्मेलनले ‘राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तनसम्बन्धी घोषणापत्र २०२६ तयार गर्नेछ । त्यसबाट युवाका प्राथमिकता तथा सुझाव समेटेर नेपालको राष्ट्रिय जलवायु नीति छलफल तथा विश्वव्यापी कोप प्रक्रियामा योगदान पुर्याउने लक्ष्य राखिएको छ । सम्मेलनमा आदिवासी जनजाति, जलवायु जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा युवा र लैङ्गिक समानताका क्षेत्रमा काम गर्ने युवाको सहभागितालाई प्राथमिकता दिइएको जनाइएको छ ।