काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली कांग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको आवश्यकता भएको उल्लेख गरेका हुन् । उपसभापति शर्माले पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । उनले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गरे । पार्टीका नेता–कार्यकर्ताहरूमा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने जिकिर गरे । ‘व्यक्ति र संस्थाप्रतिको निष्ठा मध्ये चयन गर्नुपर्दा हामीले पार्टी र देशलाई नै प्राथमिकता दिनुपर्छ । व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न म सबै साथीहरूलाई आग्रह गर्दछु,’ शर्माले भने, ‘हामीले जेठ १६ गते नै सात बुँदे लिखित प्रस्ताव नेताहरू समक्ष पठाएका थियौं । पार्टीभित्रको आन्तरिक विषय भएकाले संयम र परिपक्वता देखाउन त्यसबेला यसलाई गोप्य राखिए पनि पछि जेठ ३१ गते सार्वजनिक गरिएको हो ।’ गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिबारे चर्चा गर्दै शर्माले यसलाई कसैको जित वा हारको रूपमा हेर्न नहुने उनले बताए । उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व (गगन थापा) को नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्ने कुरामा आफू पूर्ण दृढ रहेको बताए ।