काठमडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी श्रीमती सरस्वती दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित सोमबार श्रेष्ठलाई उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठलाई प्रहरीले बुधबार राति वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा पक्राउ गरेको थियो। प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री समेत प्रहरीले जफत गरेको थियो। उनीमाथि अनुसन्धान गर्न अदालतले बिहीबार तीन दिनको म्याद दिएको थियो। विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन्।