अनुगमनमा मापदण्ड तोकिएको देखिएका होस्टेल दर्ता हुने : बाँकी होस्टल वडाबाटै दर्ता हुने व्यवस्था गरिने

  • शुक्रबार​ २९ साउन २०८३ ०८:२७ AM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन भएका होस्टेलमध्ये अनुगमनबाट मापदण्ड अनुरुप सञ्चालनमा देखिएका १८३ वटा होस्टेललाई शिक्षा विभागबाट दर्ता गर्ने निर्णय भएको छ । बिहीबार कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा छलफल गर्दै, यसअघि अनुगमन गरिएका होस्टलहरुका हकमा शिक्षा विभागबाट र अनुगमन हुन बाँकी होस्टलका हकमा वडाबाट अनुगमन गरेर वडामै दर्ता गरिने निर्णय भएको छ ।  शिक्षा विभागले गएको वैशाख १४ गतेदेखि ५ वटा टोली बनाएर होस्टेलहरुको अनुगमन गरेको थियो । मापदण्डको पालना, गुणस्तरीयताको अवस्था, सेवा र सुरक्षा सम्बन्धी व्यवस्था जाँच गरेर स्तरीयलाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेलाई सुधारको मौका दिने र आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिनेलाई बन्द गर्ने लक्ष्यसहित ३ सय पूर्णाङ्कमा सूचक राखेर अनुगमन गरिएको थियो । यसमा कम्तीमा १२० अङ्क प्राप्त गर्ने होस्टेललाई मात्र दर्ता प्रक्रियामा लगिनेछ । बाँकीलाई सुधारको मौका दिइनेछ । शिक्षा अधिकृतहरुको संयोजकत्वमा गठन भएको अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, होस्टेल व्यवसायी संघ, महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट, योजना तथा अनुगमन एकाइका प्रतिनिधि सदस्य हुनुहुन्थ्यो ।  बैठकमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले राम्रालाई प्रोत्साहन हुने र मध्यमलाई राम्रो गर्छु भन्ने वातावरण सिर्जना गर्नु पर्ने बताउँदै स्तरीकरण गर्दै शुल्कसँग जोड्न सकिने बताउनुभयो । ‘निश्चित मापदण्ड पूरा नगरी सञ्चालन अनुमति दिन सकिँदैन । किनभने, यो ठाउँ सुरक्षा, व्यवस्था र मानवीय गलत आचरणसँग जोडिन सक्ने विगत अनुभव छ । निश्चित मापदण्ड पूरा भएपछि त्यस माथिका होस्टललाई पनि स्तरीकरण गर्नुपर्छ ।’ बैठकमा छात्रावास (होस्टल) सञ्चालनलाई थप व्यवस्थित, मर्यादित र विद्यार्थीमैत्री बनाउन र अनुगमन सूचकलाई थप सरल बनाउने विषयका छलफल भएको थियो । शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार, विद्यार्थीहरूको सुरक्षा, स्वास्थ्य र सुविधालाई उच्च प्राथमिकतामा राखेर १० वटा विषयलाई अनिवार्य सर्तका रूपमा लागू गर्ने निर्णय भएको छ ।  न्यूनतम मापदण्डमा प्रत्येक १० जना विद्यार्थी बराबर कम्तिमा एउटा शौचालय हुनुपर्नेछ । एकै जना सञ्चालकले एकै ठाउँमा छात्र र छात्राका लागि होस्टल सञ्चालन गर्न पाउनेछैनन् । छुट्टाछुट्टै सञ्चालन गर्दा भवनहरूबिच कम्तिमा २ सय मिटरको दूरी कायम हुनुपर्नेछ । सुरक्षाका दृष्टिकोणले कोठा र शौचालयबाहेकका सार्वजनिक भागहरूमा सीसीटीभी जडान, अग्नि नियन्त्रण उपकरण र आपतकालीन बाहिर निस्कने ठाउँको प्रबन्धलाई अनिवार्य गरिएको छ ।  भान्सा र शौचालयको दूरी टाढा हुनुपर्ने, चौबीसै घण्टा पानी र बिजुलीको वैकल्पिक व्यवस्था हुनुपर्ने तथा कुनै पनि अवस्थामा बालश्रमिक राख्न नपाइने सर्तलाई अनिवार्य गरिएको छ । यसले होस्टलको वातावरणलाई थप सुरक्षित बनाउने लक्ष्य राखिएको छ । होस्टल व्यवसायी संघ संस्थाका प्रतिनिधिहरुले दर्ता बिना सञ्चालन भएका होस्टेलका कारण दर्ता भएर सञ्चालन हुने होस्टेललाई अप्ठ्यारो बनाएको धारणा राख्नुभयो । दर्ता नहुने कसैप्रति पनि उत्तरदायी हुनुहुन्न । कतिपय ठाउँ त मादक पदार्थ खाने र लागू औषध दुव्र्यसनको अखडा भएको देखिन्छ । यसकारण राम्रो गर्छु भन्ने होस्टल पनि बदनाम भए । उहाँहरुले धारणा राख्दै भन्नुभयो, ‘जसले पनि र दर्ता नगरी पनि होस्टल सञ्चालन गर्न पाउनु पर्छ भन्नेमा हामी पनि छैनौँ ।’ यहाँहरुका अनुसार काठमाडौँ उपत्यकाभित्र १५ हजार भन्दा धेरै होस्टल सञ्चालित छन् ।  बैठकमा होस्टलभित्रका विकृति र सहरी व्यवस्थापनमा यसको प्रभावका विषयमा पनि छलफल भएको थियो ।