काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले पिँधका जनताको मुख मिठो पार्न अझै धेरै तितो बोल्न बाँकी रहेको बताएका छन्। बुधबार संसद्को सार्वजनिक लेखा समितिमा उनले दिएको अभिव्यक्तिलाई लिएर विवाद भइरहेका बेला सांसद सुनारले आफूले उठाएको विषयमा आफ्नो अडान कायम रहेको स्पष्ट पारेका छन्। 'एक हजार अर्बभन्दा धेरै राज्यमा बेरुजु छ ! भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति - कति ! राज्यको आर्थिक हिसाब-किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा हामी छौँ। हामीले मुख मिठ्याउँदा - जनताको मुख तितो हुन्छ,' सुनारले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामीले तितो बोल्दा भोका नाङ्गा र पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ।' सांसद सुनारले बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनैपर्ने भएकाले त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन्। उनले लेखेका छन्- 'मैले उठाएको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन। म राष्ट्र सेवक प्रहरी सिपाही र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव छु। तर, गरिबका छोराछोरी, म्यादी, सिपाही, हवल्दार भएका छन् - ती गरिबका जुत्ता, मोजा, कट्टु र रासन खाएको अरबौंको गम्भीर र ठूलो मुद्दा परेको छ। मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने हैन। जुत्ता लगाउने हो, खाने हैन। ' निर्वाचन प्रहरीको पोसाक खरिदमा छानबिन समिति गठन गर्न सांसद सुनारको माग