प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

  • बिहीबार २८ साउन २०८३ ०४:४९ PM
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ। बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलकाे कार्यालयमा भेटवार्ता भएको हाे । भेटमा आङ्देम्बेको शुक्रबार हुने चीन भ्रमण, ग्वाङ्झाउमा नेपाली सम्वत् अनुसार यही साउन ३० र ३१ गते आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं एशिया क्षेत्रीय सम्मेलन तथा नेपाल-चीन द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। आङ्देम्बेले आफ्नो चीन भ्रमणलाई सम्मेलनकाे सहभागितामा मात्र सीमित नराखी नेपाल-चीन सम्बन्ध, चिनियाँ विकास तथा शासन अभ्यास र दुई देशका संसद् तथा राजनीतिक दलबीचको सम्बन्धबारे थप बुझ्ने अवसरका रूपमा लिएको बताएका थिए। त्यस्तै, उनले नेपाल-चीन सम्बन्धलाई सरकार-सरकारको सम्बन्धमा मात्र सीमित नराखी  जनस्तरसम्म विस्तार गर्नुपर्ने धारणा राखेका थिए। राजदूत माओमिङले पनि नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ पार्नुपर्नेमा जोड दिएका थिए ।