काठमाडौं । सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै आइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव उद्घाटन समारोहमा सो कुरा बताएकी हुन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नागरिकको खाद्य अधिकार र खाद्य सम्प्रभुताको हकलाई सुनिश्चित गर्न दुर्गम क्षेत्रमा खाद्य उपलब्ध गराउँदै आइरहेको स्पष्ट पारिन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले कम्पनीले व्यवस्थापन क्षेत्रमा भएका कमीकमजोरीलाई सच्चाएर छिटो र छरितो ढङ्गले कार्यसम्पादन गर्नका लागि निर्देशन दिए । विश्व खाद्य कार्यक्रमका कन्ट्रि डाइरेक्टर रियाज लोदीले विश्व खाद्य कार्यक्रमले नेपालमा पोषणसम्बन्धी कार्यक्रम सरकारसँग साझेदारी गरेर गर्दै आइरहेको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त कार्यकारी निर्देशक डिल्लीराज लम्सालले कम्पनीले पछिल्लो समय बहुआयामिक ढङ्गले सुधारको काम गर्दै आइरहेको दाबी गरे ।