भक्तपुर। थापाथलीमा बदाम बेचेर दैनिकी गुजारा चलाउँदै आएका ५७ वर्षीय हिरालाल पासवानले बिहीबार सधैँका लागि संसार छोडे। सरकारले जब थापाथली सुकुम्बासी बस्तीबाट उठिबास लगायो, उनी बेचैन थिए। सुरुमा उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरमा राखिएको थियो। बिहीबार भक्तपुरको बोडे होल्डिङ सेन्टरमा हिरालालले आफ्नै कोठामा आत्महत्या गरेपछि छोरा रवि पासवानले भने- 'बुवाले बदाम बेचेर खर्च जुटाउनुहुन्थ्यो। हामी ६ जनाको परिवार यहाँ छौँ। थापाथलीबाट हामीलाई कीर्तिपुर लगेको थियो। त्यहाँ बाढी पसेपछि सरकारले यहाँ ल्यायो। थापाथली छोडेदेखि नै बुवा बेचैन हुनुहुन्थ्यो।' रवि पनि ज्याली मजदुरीको गर्छन्। छिमेकीहरूका अनुसार हिरालाल होल्डिङ सेन्टरको अनिश्चित बसाइबाट आत्तिएका थिए। 'केही समययता सरकारले दिने भनेको जग्गा पाउने सूचीमा आफ्नो नाम आएन भनेर गुनासो गरिरहनुभएको थियो, एक्कासी यस्तो गर्नुभएछ,' छिमेकी एक महिलाले भनिन्। प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा हीरालाल कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। छोराले खाना खान बोलाउने बेलामा हीरालाल मृत अवस्थामा भेटिएका थिए । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका प्रवक्ता स्मिता आचार्यले हीरालाल २०६३ सालयता थापाथली सकुमवासी बस्तीमा बस्दै आएको जानकारी दिइन् ।