सिंहदरबारमा सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन, १४२ प्रकारका सामग्री उपलब्ध

  • बिहीबार २८ साउन २०८३ ०७:२५ AM
# सिंहदरबारमा सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन काठमाडौं । सिंहदरबार परिसरमा सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याइएको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले मन्त्रालय परिसरमा बिक्री कक्षको उद्घाटन गरेकी हुन् । बिक्री कक्षको उद्घाटन गर्दै मन्त्री कुमारीले यसबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कामका लागि आउने सेवाग्राही लाभान्वित हुने बताइन् । कार्यालय समयपछि घर फर्कने क्रममा सहज रूपमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सकिने भएकाले समय बचत हुनुका साथै व्यापार प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । उनले सिंहदरबार प्रवेश गर्ने सबैलाई एकपटक बिक्री कक्षको अवलोकन गरी सेवा लिन आग्रह गरिन् । मन्त्री कुमारीका अनुसार हाल यस्ता बिक्री कक्ष पाँच स्थानमा सञ्चालनमा छन् । आगामी दिनमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिँदै उनले निजी क्षेत्रका भाटभटेनीजस्ता सुपरमार्केटमा समेत सरकारी स्टल राख्ने विषयमा गृहकार्य भइरहेको बताइन् । ‘यहाँ दैनिक उपभोग्य १४२ प्रकारका खाद्य सामग्रीहरू उपलब्ध छन् । दुग्ध विकास संस्थान (डीडीसी) को बिक्री केन्द्र पनि नजिकै रहेकाले उपभोक्तालाई आवश्यक सबै सामग्री एकै स्थानबाट खरिद गर्न सहज हुनेछ,’ उनले भनिन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरमा सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको हो । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कार्यालय समयपछि खाद्यान्न खरिद गर्न कठिनाइ हुने कर्मचारी तथा सेवाग्राहीको मागलाई सम्बोधन गर्दै सम्बन्धित मन्त्री र सचिवको निर्देशनमा सेवा सुरु गरिएको बताए । बिक्री कक्ष उद्घाटन कार्यक्रममा लम्सालले कम्पनीले देशभर १९३ स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउँदै आएको जानकारी दिए । उनका अनुसार कम्पनीले उपलब्ध गराउने विभिन्न प्रकारका खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रमा सेवाको पहुँचबारे उठेका प्रश्नबारे स्पष्ट पार्दै लम्सालले कर्णालीका सबै जिल्ला तथा स्थानीय तहमा सम्झौतामार्फत बिक्री केन्द्र सञ्चालनमा रहेको बताए । कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गरी उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने दोहोरो भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ । कोरोना महामारीका समयमा सुरु गरिएको ‘होम डेलिभरी’ सेवा विशेष परिस्थितिमा अझै उपलब्ध रहेको भए पनि उपभोक्ताले स्वयं उपस्थित भएर सामान रोजेर खरिद गर्न बढी रुचाएको लम्सालले बताए । सरकारको पछिल्लो सक्रियतापछि दुग्ध विकास संस्थान (डीडीसी) जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि सेवा विस्तारलाई तीव्रता दिएको उनले बताए । आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । लम्सालले कम्पनीले उपलब्ध गराउँदै आएका खाद्य तथा गैरखाद्य वस्तुको सेवा लिन आम उपभोक्तालाई आग्रह गरे ।