प्युठानमा नदी किनारमा भेटियो दुई महिला र एक बालकसहित पाँच जनाको शव

  • बिहीबार २८ साउन २०८३ ११:०३ AM
प्युठान। प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ। बिहान साढे ७ बजेतिर स्वर्गद्धारी नगरपालिका –९ जुडापाटास्थित माडी खोला किनारमा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्धारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा डाढ भन्दा भन्दा माथिको भाग मात्र रहेको एक जना पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार स्वर्गद्धारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा थप एक जना महिलाको पनि शव फेला परेको हो । त्यस्तै, बिहान साढे ९ बजेतिर स्वर्गद्धारी–५ सरोजास्थित लुङग्री खोलाको किनारमा टाउको खप्पर नभएको र बायाँ खुट्टाको घुँडा देखि तलतिरको भाग नभएको अर्कौ एक महिलाको शव पनि फेला परेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले १० बजेपछि जिल्लाको माण्डपी गाउँपालिका – ५ स्थित अर्थौसस्थित खोला किनारमा थप एक जना पुरुषको शव फेला परेको जानकारी दिए। मृतक पाँचै जनाको सनाखत भइसकेको छैन।  प्यूठानका विभिन्न खोलाहरुमा फेला परेका शवहरु थवाङको पहिरो पछि बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको डिएसपी अधिकारीले बताए । 'थवाङमा पहिरो पछि बाढीले बगाएर ल्याएका मानिसहरु हुन् कि भनेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अन्यथा प्यूठानमा मानिस हराएको वा बाढी पहिरोको घटना पनि भएको छैन।’ विभिन्न ठाउँमा फेला परेका शवबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।