धनकुटा प्रहरीद्वारा ठूलो परिमाणमा बरामद भएको लागुऔषध नष्ट

  • बुधबार २७ साउन २०८३ ०३:११ PM
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले बरामद गरेका लागुऔषधलाई बुधबार तमोर नदी किनारमा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको रोहवरमा लागुऔषध नष्ट गरेको हो । नष्ट गरिएका लागुऔषधमा एक हजार ५२१ केजी गाँजा र ट्रामाडोल, डाइसाइकोमाइन ट्याब्लेट एक हजार ८९७ ट्याब्लेट रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । यसअघि असार २६ गते पनि धनकुटा प्रहरीले एक हजार दुई किलो ३०५ ग्राम गाँजा र विभिन्न ट्याबलेट नष्ट गरेको थियो ।