अर्घाखाँचीमा चालक/सहचालकलाई ट्राफिक सचेतना, ११४ ले गराए स्वास्थ्य परिक्षण

  • मङगलबार २६ साउन २०८३ ०८:४४ PM
अर्घाखाँची। सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क बसपार्कमा चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षणबाट ११४ जना प्रत्यक्ष लाभान्वित भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो। सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था सवारी सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिने भएकाले स्वास्थ्य परीक्षणसँगै सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। आयोजकले जिल्लामा सञ्चालन हुने सार्वजनिक तथा अन्य सवारीका सम्पूर्ण चालक तथा सहचालकलाई कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ।  सवारी चालकको स्वास्थ्य अवस्था स्वस्थ र सुदृढ रहँदा सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने भएकाले कार्यक्रमलाई प्रभावकारी बनाउन सबै चालक तथा सहचालकको सहभागिता आवश्यक रहेको आयोजकको भनाइ छ। स्वास्थ्य परीक्षणका क्रममा सुगर, रक्तचाप तथा आँखाको परीक्षण गरिएको छ। शिविरमा अधिकांश चालक तथा सहचालकमा प्रेसर, सुगर, मोटोपन लगायतका समस्या देखिएको ट्राफिक प्रहरीका हवल्दार तथा सूचना अधिकारी कृष्णप्रसाद मरासिनीले बताए। कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख दुर्गा न्यौपाने लगायतले मन्तव्य राख्दै सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था सवारी सुरक्षाको महत्वपूर्ण पक्ष भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए। उनीहरूले चालक स्वस्थ र मानसिक तथा शारीरिक रूपमा सक्षम भएमा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै ट्राफिक नियमको पूर्ण पालना गर्नसमेत आग्रह गरे। कार्यक्रममा चालक तथा सहचालकलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना, सुरक्षित यात्राका उपाय तथा सवारी चलाउँदा स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा समेत सचेत गराइएको थियो।