काठमाडौँ रचनात्मक कला परिषदको पहिलो बैठक सम्पन्न

  • मङगलबार २६ साउन २०८३ ०८:११ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज ‘काठमाडौँ रचनात्मक कला परिषद’को पहिलो बैठक सम्पन्न भएको छ । रचनात्मक सहर सञ्चालन व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम कला, संस्कृति, चलचित्र तथा रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रलाई अन्तरसम्बन्धित बनाएर नीतिगत व्यवस्था गर्न गठित परिषदको यो पहिलो बैठक हो ।  बैठकका अध्यक्ष डंगोलले, काठमाडौँको छवि, यहाँको गरिमासँग जोडिएका रचनात्मक उद्योगको प्रवर्धन गर्न चलचित्र विधालाई माध्यमका रुपमा उपयोग गरिने बताउँदै अन्तरसंवाद, सहकार्यबाट रचनात्मक उद्योगको विकासमा काम गरिने बताउनुभयो । यस्तै सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, स्थानीय जीवनलाई राष्टिय, अन्तर्राष्टिय मञ्चमा जोड्दै लगिने योजना रहेको बताउनुभयो ।  महानगरपालिकाका प्रमुखको अध्यक्षतामा गठन भएको परिषदमा महानगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, सम्पदा तथा पर्यटन समितिका संयोजक, चलचित्र विकास बोर्डका अध्यक्ष, नेपाल पर्यटन बोडृका कार्यकारी निर्देशक सदस्य हुनुहुन्छ । कला, संस्कृति तथा रचनात्मक उद्योग क्षेत्रमा अनुभव भएका व्यक्तिबाट प्रमुखले मनोनित गरेका ५ जना व्यक्ति सदस्य रहने परिषदमा सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव हुनुहुन्छ ।  रचनात्मक उद्योग, चलचित्र निर्माण, प्रवर्धन तथा प्रदर्शनसँग सम्बन्धित वार्षिक, मध्यकालीन, दीर्घकालीन नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयामसँग काठमाडौँको सम्बन्ध स्थापना, विकास र विस्तार गर्ने, चलचित्र उत्पादनसँग सम्बन्धित कार्यमा अन्तर्राष्ट्रिय क्षेत्रलाई काठमाडौँमा आकर्षित गर्न नीतिगत व्यवस्था गर्ने परिषदका मुख्य काम, कर्तव्य र अधिकार हुन् । यस्तै रचनात्मक उद्योगका लगानीकर्ता, निर्माता, कलाकार तथा प्राविधिक अनुकुल कार्यस्थल निर्माण गर्ने, रचनात्मक उद्योग सम्बद्ध विषयमा अध्ययन, अनुसन्धानमा सहयोग गर्ने, कला, संस्कृति र पराम्पराको विकासका लागि स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको अनुभव, ज्ञान, सिप र क्षमता आदानप्रदान गर्ने, महानगरपालिका तथा महानगरबासीको पहिचान तथा गरिमा प्रवर्धन गर्ने, युनेस्को तथा सो अन्तर्गतका रचनात्मक सहर सञ्जालमा आबद्ध भएका सदस्य सहरहरुसँग समन्वय र सहकार्य गर्ने, मूर्त, अमूर्त कला, साहित्य, सिर्जनाको विकास, विस्तार तथा रचनात्मक उद्योगका रुपमा प्रवर्धन गर्ने काम परिषदका क्षेत्राधिकार भित्रका काम हुन् ।  काठमाडौँ महानगरपालिकाको मौलिकता र प्राचीनतासँग जोडिएका लोककला, परम्परागत खाना, भेषभुषा, शिल्प तथा कला, साहित्य–सङ्गीत जस्ता मूर्त अमूर्त सम्पदा तथा प्राकृतिक सम्पदाको गरिमा प्रवर्धन गर्न रचनात्मक सहर सञ्चालन व्यवस्थापन कार्यविधि जारी गरेको हो । मनोरञ्जनात्मक क्षेत्र अन्तर्गतको चलचित्र विधालाई सिर्जनशील, सांस्कृतिक एवम् रचनात्मक उद्योगका रुपमा विकास गरी संरक्षण, सम्वर्धन तथा प्रवर्धनका कार्यक्रम सञ्चालन यसका उद्देश्य हुन् ।  काठमाडौँ युनेस्को क्रियटिभ सिटिज नेटवर्कमा चलचित्र विधाबाट सदस्य नगर बनेपछि रचनात्मक उद्योगका काम थालिएका हुन् ।