काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरे । राईले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाए । विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि पन्छिरहेको आरोप लगाए । उनले देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक नाममा भइरहेका झगडा, आगजनी र धम्कीका घटनाप्रति चिन्ता व्यक्त गरे । यस्ता घटनाका दोषीलाई उजुरी गर्दा समेत कारबाही नहुनुले सरकारको कमजोरी उदाङ्गो भएको उनको तर्क छ । राईले जनताको दैनिक समस्या र सेवा सुविधाको अभावका विषयमा सरकार संवेदनशील नभएको आरोप लगाए । मन्त्रीहरू मन्त्रालयको वातानुकूलित (एसी) कोठामा सीमित भएको तर सडकमा ग्यासको लाइनमा बस्ने र माइतीघरमा न्यायका लागि आन्दोलन गर्ने नागरिकको पीडा नबुझेको उनले बताए । यस्तै, वर्षौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुमवासी र वास्तविक भूमिहीनले अझै धनीपुर्जा नपाएको विषयमा भूमि सुधार मन्त्रालयले देखाएको आलटालप्रति पनि उनले आपत्ति जनाए । उनले थपे, ‘पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुमवासी तथा भूमिहीन नागरिकलाई धनीपुर्जा दिने विषयमा अब नाटक होइन, परिणाम चाहिन्छ । स्थानीय तह वा अन्य निकायलाई दोष दिएर हुँदैन। संघीय सरकारले समन्वय गरेर समस्या समाधान गर्नुपर्छ ।’ अध्यक्ष राईले भने, ‘हामी देशमै छौँ, तर कस्तो देशमा छौँ