काठमाडौं । नेपाली कांग्रेसले ग्यास आपूर्ति, रासायनिक मलको अभाव, विद्युत् उपभोगमा लगाइएको भ्याट तथा बढ्दो महँगीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा जनताले दैनिक जीवनमा भोगिरहेका समस्याबारे छलफल भएको र ती समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार ग्यासको आपूर्ति सहज हुन नसक्दा सर्वसाधारणले लामो समय लाइनमा बस्नुपर्ने अवस्था आएको छ। ग्यासको समस्या युद्धका कारण मात्र नभई पर्याप्त भण्डारणको अभाव तथा आपूर्ति र व्यवस्थापनमा देखिएको कमजोरीका कारणसमेत उत्पन्न भएको कांग्रेसको भनाइ छ। ‘नेपाली कांग्रेसको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा जनताले दैनिक रूपमा भोगिरहेका वर्तमान समस्याहरूलाई केन्द्रबिन्दुमा राखेर छलफल गरिएको छ र यी विषयहरूमा सरकारको ध्यानाकर्षण गराइएको छ,’ उनले भने, ‘दैनिक जीवनमा ग्यास आपूर्तिको कठिनाइ र लामो लाइनले जनताको जीवन अस्तव्यस्त बनाएको छ। यो समस्या युद्धका कारणले मात्र नभई सरकारका तत्कालीन निर्णय, पर्याप्त भण्डारणको अभाव र खलबलिएको आपूर्ति तथा व्यवस्थापकीय शैलीका कारण उब्जिएको हो। दूरदर्शी नीति अपनाउन, भण्डारणको पूर्व व्यवस्था गर्न र जनताको भान्सा व्यवस्थित गर्न सरकारको स्पष्ट उपस्थिति देखिनुपर्ने माग गरिएको छ।’ कांग्रेसले ग्यासको विकल्पका रूपमा इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् उपभोगमा लगाइएको भ्याट तत्काल फिर्ता लिन माग गरेको छ। विगतमा विद्युत् खपत बढाउन इन्डक्सन चुल्हो आयातमा छुट तथा विद्युत्मा सहुलियत दिने नीति लिइएको उल्लेख गर्दै कांग्रेसले वर्तमान सरकारले विद्युत्मा भ्याट लगाएको भन्दै आलोचना गरेको छ। खेतीपातीको समयमा रासायनिक मलको चरम अभाव भएको भन्दै कांग्रेसले मल आपूर्ति प्रणाली व्यवस्थित गर्न सरकारसँग माग गरेको छ। मल अभावका कारण भविष्यमा खाद्य संकट निम्तिन सक्ने जोखिम रहेको कांग्रेसको भनाइ छ। बजारमा उपलब्ध मलमा समेत कालोबजारी भइरहेको तथा सीमावर्ती क्षेत्रमा मल ल्याउन जाने किसान लुटिने, कुटिने र थुनिने समस्या देखिएको कांग्रेसले जनाएको छ। ‘खेतीपातीको समयमा मलको चरम अभावले किसानहरू आक्रान्त छन्, जसले भविष्यमा देशमा खाद्य संकट निम्त्याउन सक्ने जोखिम छ। भएका मलमा पनि कालोबजारी भइरहेको छ। सीमावर्ती क्षेत्रमा मल ल्याउन गएका किसानहरू लुटिने, कुटिने र थुनिने समस्या हुँदा पनि सरकार मौन छ। साना किसानको संरक्षण, उनीहरूको उत्पादन र बजारको ग्यारेन्टी तथा सिँचाइको दीर्घकालीन व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। मल आपूर्ति प्रणालीलाई व्यवस्थित गर्दै दीर्घकालीन रूपमा स्वदेशमै मल कारखाना खोल्ने नीति बनाउन सरकारसँग आग्रह गरिएको छ,’ उनले भने । कांग्रेसले साना किसानको संरक्षण, कृषि उत्पादन तथा बजारको सुनिश्चितता र दीर्घकालीन सिँचाइ व्यवस्थाका लागि सरकारको ध्यान जानुपर्ने जनाएको छ। साथै, रासायनिक मलमा परनिर्भरता अन्त्य गर्न स्वदेशमै मल कारखाना स्थापना गर्ने नीति लिन आग्रह गरेको छ। यसैगरी, बजारमा बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको दैनिक जीवनयापन कठिन बन्दै गएको कांग्रेसले जनाएको छ। बजार अनुगमन तथा मूल्य नियन्त्रण प्रभावकारी नभएको भन्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ। प्रवक्ता चालिसेका अनुसार केन्द्रीय कार्यसमितिको सोमबारको बैठक मुख्यतः ग्यास, मल, बिजुली र महँगीलगायत जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित थियो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निरन्तर जारी रहने र आगामी दिनमा समसामयिक राजनीति तथा पार्टीको अधिवेशनलगायत विषयमा छलफल गरिने उनले जानकारी दिए ।