देशका अधिकांश क्षेत्रमा वर्षा, कुन-कुन सडक अवरुद्ध छन् ?

  • सोमबार २५ साउन २०८३ ०७:१४ AM
काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।  प्रहरी प्रधानकार्यालयले शनिबार बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा आज बिहान ४:०० बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत साँझ १८:०० देखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन आवागमन रोक लगाइएको छ । बिहान ४:०० देखि बेलुका १८:०० बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ । मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति सबै प्रकारका सवारी साधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा बेलुका १७:०० देखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडकमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु पहिरोले यहाँ पनि यातायात सेवा प्रभावित भएको छ । सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । यसैगरी, आज बिहान ५:०० बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गए राति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले यात्रीलाई आग्रह गरेको छ । प्रहरी प्रधानकार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने भएकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।