सवारी दुर्घटनामा दुई महिलाको ज्यान गयो, पाँच जना घाइते

  • आइबार​ २४ साउन २०८३ ०९:३६ PM
झापा। झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । प्रहरीका अनुसार मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किदा अटो चालक तयामुल हकसहित पाँच जना घाइते भएका थिए । घाइतेमध्ये झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै कनकाई नगरपालिका–७ दुर्गापुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश १–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी अर्जुनधारा नगरपालिका–९ की ५० वर्षीया मीरादेवी गौतमलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो । उहाँको उपचारका क्रममा  मृत्यु भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए। मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ का ३१ वर्षीय गोपाल रम्तेल पनि दुर्घटनामा घाइते भएका छन् । उहाँको अनुहारमा चोट लागेको र सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।