वनकाली धर्मशाला, ऐतिहासिक पोखरी र कलात्मक पर्खाल पुनःनिर्माण शिलान्यास

  • आइबार​ २४ साउन २०८३ ०५:५० PM
काठमाडौँ । काठमाडौँको बनकालीमा रहेको प्राचीन धर्मशाला र धर्मशाला परिसरमा पार्क, वरिपरि पर्खाल निर्माण गर्ने कार्यको शिलान्यास भएको छ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले विधिपूर्वक पूजाआजा गरेर निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।  शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले, पशुपति क्षेत्रमा आउने श्रद्धालुहरुले पशुपति क्षेत्रमै बास बसेर दर्शन गर्न पाउने वातावरण बनाउन लगानी गरिएको बताउनुभयो । ‘१ वर्षमा काम सम्पन्न गर्ने लक्ष्यसहित योजना अगाडि बढाएका छौँ । वडाले नेतृत्व लिएको छ । पशुपति क्षेत्र विकास कोषसँग समन्वय छ । सबैको सक्रियतामा योजना सम्पन्न हुनेछ ।’ उहाँको भनाइ छ ।  ‘बनकाली धर्मशालाको पुनरुत्थानका लागि २ चरणमा काम हुँदैछ । पहिलो चरणमा धर्मशालाको छाना मर्मत, छानामा फल्याक राख्ने, वाटर प्रफिङ गर्ने, छाना नभएको ठाउँमा राख्ने काम भएको छ ।’ वडाध्यक्ष एवं समितिका संयोजक संगतले भन्नुभयो, ‘यस क्षेत्रको प्राचीन पहिचान पुनःस्थापना गर्ने लक्ष्यसहित काम गर्दैछौँ । २०४५ सालदेखि २०५० साल तिर पुरिएको पोखरी पुनरुत्थान गर्नेछौँ ।’  छाना मर्मतका लागि सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ३२ लाख ५४ हजार ६१३ रुपियाँमा अगाडि बढाइएको हो । यसको अहिले ९० प्रतिशत काम सकिएको छ ।  यो परियोजनाको गुरुयोजना सहरी योजना आयोगले तयार पारेको हो । आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईका अनुसार पशुपति क्षेत्र बिकास कोष अन्तर्गत रहेको करिब १२ रोपनी ६ आना क्षेत्रफलमा निर्माण कार्य हुनेछ । यसको लागत करसहित ३ करोड ६५ लाख १३ हजार ४३२ रुपियाँ हो । कामका लागि निर्माण पक्षसँग असार १७ गते सम्झौता भएको छ । यसको निर्माण अवधि २०८४ असार १० गतेसम्म हो ।   यस ठाउँको करिब एक रोपनी क्षेत्रफलमा ३६ कोठे धर्मशाला भवन छ । भवन पुरानो र जीर्ण भएको, झ्याल ढोका मक्किएको, थामले ठाउँ छोडेको, छाना चुहिने भएको, कति ठाउँमा छानो नै नभएकोले यसमा मानव बसोबास हुन सक्ने अवस्था थिएन । अब भवनलाई मौलिक स्वरुपमा जीर्णोद्धार गरिनेछ । श्रद्धालुको बसोबासलाई सहज बनाउन हरेक तलाका दुवैतर्फ महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नान कक्ष बनाइनेछ । यसपछि धर्मशालामा २४ वटा शौचालय र २० वटा स्नान कक्ष हुनेछन् ।  धर्मशाला भवनमा सरसफाइ र स्वच्छताको काम हुनेछ । पानीका लागि पाइप जडान र विद्युत जडानको काम हुनेछ ।  धर्मशालामा रहने श्रद्धालुहरुका लागि भवन अगाडि मनमोहक पार्क बनाइनेछ । पार्क डिजाइन गर्दा सबै उमेर समूहका व्यक्तिहरुलाई ध्यानमा राखिएको छ । ज्येष्ठ नागरिकलाई सामान्य व्यायाम गर्ने, योग गर्ने स्थान उपलब्ध हुनेछ । आराम गर्ने फलैँचा, बस्ने कुर्सी राखिनेछन् । युवाहरुका लागि व्यायाम गर्ने साधन राखिनेछन् । व्याटमिन्टन कोर्ट निर्माण गरिनेछ । बालबालिकाका लागि खेल्न ट्रामपोलिन, मङ्की बार, चिप्लेटी लगायत सामान सहितको सुविधा हुनेछ ।  परिसरमा समूहगत रुपमा बस्न मिल्ने बेञ्च राखिनेछ । खुला स्थानका विभिन्न स्थानमा बस्न कुर्सी राखिनेछन् । पानीको फोहोरा, वरपरि मानिस बस्न मिल्ने साना ठुला चौतारा बनाइनेछन् । निर्माण कार्य गर्दा वर्षादको पानी भुइँमा सोस्ने बनाइनेछ ।  आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार ६ हजार ३८१ वर्ग मिटर क्षेत्रको सरसफाइ गरेपछि काम थालनी गरिनेछ । पोखरी निर्माणसहित बगैँचा बनाउन करिब ३ हजार २३० घन मिटर माटो, बालुवा घटु चाः (पोखरी बनाउने माटो) प्रयोग हुनेछ ।  बगैँचामा ४ फिट उचाइका १५० वटा र ८ फिट उचाइका ३० वटा विरुवा रोपिनेछन् । ६ सय वटा मौसमी फूल रोपिनेछन् । २५० वटा पोली हेज सहितको हरियाली क्षेत्र निर्माण हुनेछ ।  करिव ३५० मिटर लम्बाईको सिमाघेरा पर्खाल लगाइनेछ । पर्खालको १ हजार ३५४ वर्गमिटर क्षेत्रमा दछी आपा राखिनेछ । पर्खाल कासिमो बुट्टा र पालेफो बुट्टासहितको हुनेछ ।  भुइँको २२७ दशमलव ७९ वर्गमिटर क्षेत्रमा परम्परागत तेलिया टायल राखिनेछ । भुइँ र पर्खाल गरी ३९७ दशमलव ९९ वर्गमिटर क्षेत्रमा टायल राखिनेछ ।