अस्पतालको भवन तयारः उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

  • आइबार​ २४ साउन २०८३ ०३:४२ PM
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा भएको छ । भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ । सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको अस्पताल भवन केही साताअघि सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७७/७८ मा काम सुरु भएको भवन रु छ करोड १८ लाख ७९ हजार ४८१ को लागतमा निर्माण गरिएको हो । दुईतले आरसिसी भवनमा उपचार कक्ष, शौचालय, विद्युत् तथा खानेपानीलगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको छ । भवनको जिम्मा पाएको शृङ्खला निर्माण सेवा प्रालि बिदुर नगरपालिका-४ (नुवाकोट)ले निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ । अस्पताल सञ्चालनका लागि दुई चिकित्सकसहित २२ जनाको दरबन्दी कायम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए । चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला, फार्मेसी तथा प्रशासनतर्फका कर्मचारीको दरबन्दी रहे पनि आवश्यकताअनुसार थप जनशक्ति करार सेवाबाट व्यवस्थापन गरिने उनले बताए । अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा अन्य सामग्री व्यवस्थापन गर्न सङ्घ र प्रदेश सरकारसँग माग गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए । आवश्यक उपकरण तथा स्रोतसाधन उपलब्ध भएपछि अस्पताललाई निर्धारित सेवा र क्षमताअनुसार सञ्चालन गर्न सहज हुने गाउँपालिकाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक सेवा तथा दन्त उपचार सेवा स्थानीयस्तरबाटै प्राप्त गर्ने बताए । जटिल प्रकृतिका बिरामीलाई भने आवश्यकता अनुसार सुविधा सम्पन्न अस्पतालमा पठाइने उनले जानकारी दिए । गाउँपालिकाले यही साउन अन्त्यसम्म अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल वडा नं ७ मा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीलाई साउन महिनाभित्रै नयाँ अस्पताल भवनमा स्थानान्तरण गरी सोही भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । दश शय्याको अस्पताल सञ्चालनका लागि भवन, दरबन्दी तथा आधारभूत पूर्वाधार तयार भए पनि आवश्यक उपकरण र स्रोतसाधनको व्यवस्थापन पूरा गर्नुपर्ने भएकाले अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न चुनौती रहेको गाउँपालिकाले जनाएको छ । आवश्यक व्यवस्था पूरा भएमा मर्स्याङ्दी गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक तथा दन्त उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।