बाँकेमा उपभोक्ता अदालत गठन गर्न माग, कसरी ठगिइरहेका छन् उपभोक्ता ?

  • शुक्रबार​ २२ साउन २०८३ ०७:२७ PM
बाँके। बाँके जिल्लामा उपभोक्ता अदालत गठनको माग गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा खुला सीमा क्षेत्र र आर्थिक कारोबारको केन्द्र रहेको नेपालगन्जमा उपभोक्ता विभिन्न बहानामा ठगिने गरेकाले पीडितलाई छिटो न्याय दिलाउन उपभोक्ता अदालत गठनको आवश्यकता औँल्याइएको हो । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेले सामुदायिक तथा साझा हितका मुद्दामा एकरुपता कायम गर्न उपभोक्ता अदालतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले सवारीसाधन, पाटपुर्जा, इलेक्ट्रोनिक सामान खरिदमा ठगिएकोजस्ता विषयमा उपभोक्ताबाट अदालतमा मुद्दा दर्ता हुने गरेको जानकारी दिए । वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले सार्वजनिक सरोकारका विषयमा अदालतमा सबैभन्दा बढी मुद्दा बाँकेबाट दर्ता भएकाले उपभोक्ता अदालत गठन अनिवार्य भएको बताए । नेपालगन्जमा सार्वजनिक सरोकारका विषयमा कानुन व्यवसायीको साझा संस्था सार्वजनिक सरोकार मञ्चमार्फत सार्वजनिक विषयमा पैरवी भइरहेकाले उपभोक्ता अदालत आवश्यक भएको धारणा व्यक्त गरे । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव सिंहऋषि काफ्लेले 'उपभोक्ता अदालतमा अहिलेसम्म ४० मुद्दा दर्ता भएको छ' भन्दै अघिल्लो आर्थिक वर्षमा १७ मुद्दा दर्ता भएको बताए । हाल उपभोक्ता अदालत काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेको जानकारी दिए । वरिष्ठ अधिवक्ता ध्रुव बस्यालले 'स्थानीय चामलमा बासनायुक्त केमिकलको प्रयोग गरेर बजारमा बेचिने गरेकाले त्यस्ता खाद्य वस्तुको नियमन जरुरी छ' भने ।  सो अवसरमा मञ्च बाँकेका अध्यक्ष सुरेश गौतमलगायतले 'उपभोक्ताले छिटोछरितो न्याय पाउने वातावरण निर्माण गर्न उपभोक्ता अदालत आवश्यक छ' भने ।