प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

  • शुक्रबार​ २२ साउन २०८३ ०२:१० PM
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने योजनाबारे स्पष्ट पार्न सरकारसँग आग्रह भएको छ ।  बैठकमा ट्रमा सेन्टरका बारेमा प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।  बैठकको आरम्भमा विपक्षी दलका सदस्यहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली काग्रेसका सांसद डा चन्द्रमोहन यादवलाइ समय दिए ।  सांसद यादवले ढल्केवर मधेस प्रदेशको धेरै मानिस बस्ने जिल्लाको केन्द्रमा रहने र राजमार्गको बीचमा रहेकाले त्यहाँ राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने सरकारको योजनाबाट सरकार पछि हटेको भन्दै विरोध गरे । उनले विगतका सरकारले ढल्केबरमा ट्रमा सेन्टर बनाउने योजनालाई हेरफेर गर्न नहुने बताए । उनले सरकारबाट जवाफ नआएसम्म आफू मौन खडा रहने बताए ।  प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलका सांसदहरूले आफ्ना आसनबाट उठेर राष्ट्रिय महत्वका विषयमा ध्यानाकर्षण गरेपछि सत्ता पक्षका सांसदले नियमापत्ति गरे । सांसद यादव बोलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जुन विषय र समयमा बोल्न खोजिएको हो, त्यही समयमा बोल्न आग्रह गर्दै बैठक सुरु हुनेवित्तकै  जुनसुकै विषयमा बोल्ने विपक्षीहरूको शैलीको विरोध गरे ।  सो पार्टीका मनिष खनालले सधैँ एउटै शैलीमा सुरुमै उठेर विरोध गर्ने र समय दिइरहने प्रवृत्ति अन्त्य गर्न सभामुखसँग आग्रह गरे । तत्पश्चात पनि सांसद यादव नबोली उभिइहेपछि सभामुख अर्यालले आफ्नो आसनमा बसेर सभाको मर्यादा कायम गर्न उनलाई आग्रह गरे । सांसद यादव उभिइरहेपछि सभामुख अर्यालले यादवलाई पुनः बोल्न समय दिए ।  सांसद यादवले मधेस प्रदेशको केन्द्र जस्तो भएकाले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने वा नगर्ने भन्नेबारेमा सरकरले स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।