काठमाडौँ । सरकारले यहीँ साउन १ गतेदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र सुविधाको विस्तृत विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार , अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कार्यान्वयनमा ल्याएको हो । सार्वजनिक नयाँ तलबमान अनुसार निजामती सेवातर्फको सर्वोच्च पद मुख्य सचिवको सुरु तलब ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ । दुई वटा ग्रेडसहित उनको कुल तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ । त्यस्तै, सचिव (राजपत्राङ्कित विशिष्ट श्रेणी) को सुरु तलब ७९ हजार २९० रुपैयाँ तोकिएको छ । दुई वटा ग्रेडसहित सचिवको जम्मा तलब ८४ हजार ५७६ पुगेको छ । यस पटक सरकारले तलब वृद्धिसँगै थप सुविधाको पनि घोषणा गरेको छ । पत्रका अनुसार, कर्मचारीले एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ता बापत प्राप्त गर्नेछन् । यो व्यवस्था निजामती, सेना, प्रहरी, शिक्षक र स्थानीय तहका सबै कर्मचारीमा समान रूपले लागू हुनेछ । प्रमुख पदको नयाँ तलब विवरण (सुरु तलबमान) निजामती सेवा: मुख्य सचिव: ८४ हजार ९३२ सचिव (विशिष्ट श्रेणी): ७९ हजार २९० सह सचिव (प्रथम श्रेणी): ६२ हजार ४६६ उप सचिव (द्वितीय श्रेणी): ५३ हजार ६११ शाखा अधिकृत (तृतीय श्रेणी): ४८ हजार ५८ नायव सुब्बा (प्रथम श्रेणी): ३८ हजार २०३ खरिदार (द्वितीय श्रेणी): ३६ हजार १९२ सुरक्षा निकाय नेपाली सेना: प्रधान सेनापति: ८४ हजार ९३२ रथी: ८१ हजार ६४३ सिपाही: २८ हजार ६९० नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक (आइजी र एआईजी): ७९ हजार २९० प्रहरी जवान: २८ हजार ६९० शिक्षक सेवा: माध्यमिक तह (प्रथम श्रेणी): ६२ हजार ४६६ निम्न माध्यमिक (प्रथम श्रेणी): ५० हजार ४४८ प्राथमिक तह (प्रथम श्रेणी): ४८ हजार ५८ कार्यालय सहयोगी र सवारी चालकको तलब हल्का सवारी चालक (पाँचौँ स्तर) को ४३ हजार ७९४ र कार्यालय सहयोगी (पाँचौँ स्तर)को ३६ १४२ सुरु तलबमान तोकिएको छ । यसका साथै श्रेणीविहीन कर्मचारीका लागि पनि तहगत रूपमा तलब वृद्धि गरिएको छ । अर्थ मन्त्रालयका अनुसार यो नयाँ तलबमान यहीँ साउन १ गतेदेखि नै लागू हुने गरी सबै मन्त्रालय, आयोग र निकायलाई परिपत्र गरिएको छ ।