काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि अघि बढाएको प्रक्रियामा उनी उत्कृष्ट तीन उम्मेदवारमा परेका थिए । कार्यकारी निर्देशक पदका लागि साहसँगै प्यूठानका कौशल केसी र सप्तरीका संजीवकुमार देव प्रतिस्पर्धामा थिए । अनुभव र योग्यताका आधारमा साहलाई बलियो उम्मेदवारका रूपमा मूल्यांकन गर्दै मन्त्रिपरिषद्ले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै साहले चार वर्षका लागि निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । नवनियुक्त कार्यकारी निर्देशक साहसामु सरकारले अघि सारेको ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण क्षमता विकास गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ । पेट्रोलियम पदार्थको सुरक्षित भण्डारण क्षमता विस्तारसँगै निगमको व्यवस्थापन, आपूर्ति प्रणाली र दीर्घकालीन पूर्वाधार विकासमा समेत साहको कार्यकाललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।