माइतीघरमा प्रदर्शन गर्दा पक्राउ परेका सुनिल विकसहित तीन जेनजी धरौटी बुझाउन नसक्दा जेल चलान

  • बिहीबार २१ साउन २०८३ ०८:४० AM
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलमा लघुवित्त ऋणीको आन्दोलनका क्रममा पक्राउ परेका तीन जना जेनजी अभियन्तालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको छ । धरौटी बुझाउन अस्वीकार गरेपछि उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । थुनामा पठाइनेमा अजय सोडारी, प्रकाश बम र सुनिल विक रहेका छन् । उनीहरूलाई साउन १३ गते माइतीघर मण्डलमा भइरहेको आन्दोलनका क्रममा सार्वजनिक शान्तिविरुद्धको कसुर आरोपमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले धरौटी रकम नबुझाएका कारण उनीहरूलाई थुनामा पठाइएको पुष्टि गरे । 'उनीहरूलाई धरौटीमा छाड्ने प्रक्रिया थियो । तर धरौटी नबुझाएपछि कानुनी प्रक्रियाअनुसार थुनामा पठाइएको हो,' उनले भने । उनका अनुसार यस्ता मुद्दाको सुनुवाइ प्रमुख जिल्ला अधिकारीबाट हुने व्यवस्था छ । धरौटी नबुझाएपछि तीनै जनालाई सुन्धारा कारागार पठाइएको छ । उनीहरूमाथि माइतीघर मण्डलमा आन्दोलनरत लघुवित्त ऋणीलाई उक्साएको आरोप लगाइएको छ । यता, जेनजी अभियन्ता सुप्रिया नेपालीले आफूहरूले आर्थिक अभावका कारण होइन, धरौटी माग्ने निर्णयको कानुनी आधार स्पष्ट नभएकाले रकम तिर्न अस्वीकार गरेको समता प्रेससँग बताएकी छन् । उनका अनुसार सुरुमा १० हजार रुपैयाँको भौचर बनाउन भनिए पनि त्यसको आधारबारे प्रश्न उठाएपछि पछि तीनै जनालाई जनही एक लाख रुपैयाँ धरौटी तोकिएको थियो । 'हामीले तिर्न नसकेर होइन, किन तिर्ने, कुन कानुनअन्तर्गत तिर्ने र त्यसको आधार के हो भनेर प्रश्न उठाएका हौँ,' उनले भनिन् । 'राज्यले कसैलाई नियन्त्रणमा लिएपछि वा धरौटी मागेपछि त्यसको स्पष्ट कानुनी आधार र कारण देखाउनुपर्छ । त्यसबिनै पुर्पक्षका लागि थुनामा पठाइनु गम्भीर विषय हो ।' सुप्रियाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रतिक्रियामा हिरासतमा रहेका नागरिकप्रति राज्य संयन्त्रको व्यवहारप्रति पनि प्रश्न उठाएकी छन् ।