काठमाडौँ। काठमाडौँको माइतीघरमा भएको लघुवित्त ऋणीहरूको आन्दोलनका क्रममा पक्राउ परेका तीन जना जेनजी अभियान्तासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिव्यक्ति एक लाख रूपैयाँ धरौटी माग गरेको छ। उनीहरूले धरौटी तिर्न नसक्ने बताएपछि प्रशासन कार्यालयले बुधबार थुनामा पठाउन आदेश दिएको छ। उनीहरू साउन १३ गतेदेखि थुनामै थिए। एक लाख धरौटी तिर्न नसकेर पुर्पक्षका लागि थुनामा पठाइएका जेनजी अभियानी अजय सोडारी, प्रकाश बम र सुनिल बिक हुन्। उनीहरूलाई सार्वजनिक शान्तिविरूद्धको कसुरमा साउन १३ गते साँझ माइतीघर मण्डलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले उनीहरूलाई एक लाख धरौटी बुझाउन नसकेपछि थुनामा पठाइएको पुष्टि गरे। 'उनीहरूलाई आज धरौटीमा छाड्ने कुरा थियो। धरौटी तिर्न नसकेपछि थुनामा पठाइएको हो, यो नियमित प्रक्रियामा पर्छ,' उनले भने, 'यस्ता मुद्दा सिडिओ आफैले हेर्छन्।' सुन्धारा कारागार पठाइएका यी तीन जनालाई माइतीघर मण्डलमा आन्दोलनरत लघुवित्त ऋणीहरूलाई उक्साएको आरोपमा नियन्त्रणमा लिइएको थियो। 'आज छाड्ने भनेपछि हामी जिल्ला प्रशासन कार्यालय पुगेका थियौं। सुरूमा १० हजार धरौटीमा छाड्ने भनिएको थियो,' अजय सोडारी टिमकी सुप्रिया नेपालीले सेतोपाटीसँग भनिन्, 'हामी विद्यार्थी हौं, जनही १० हजार तिर्न सक्दैनौं भनेर सिडिओसँग कुरा राखेका थियौं। पछि एक्कासि एक लाख धरौटी तोकियो भन्ने खबर आयो।' एक लाख धरौटी तोकिपछि आफूहरूले सिडिओलाई भेट्न खोजे पनि कार्यालय बन्द भइसकेको भन्दै भित्र प्रवेश गर्न नदिएको उनी बताउँछिन्। जेनजी अभियानीहरूमाथि प्रतिशोध साधेर माथिको आदेश भन्दै थुनामा राखिएको उनको भनाइ छ।