काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटेर सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि एकता अभियानबारे अवगत गराएको छ। समाजको प्रतिनिधिमण्डलले बुधबार राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवलाई भेटेर सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि शान्ति समाजले प्रारम्भ गरेको तोड्न होइन, जोड्न योगदान गर्न आग्रहसहितको सद्भाव एकता अभियानबारे अवगत गराएको हो। राष्ट्रपति कार्यालय महाराजगन्जमा भएको भेटमा राष्ट्रपति पौडेलले शान्ति समाजले लोकतान्त्रिक आन्दोलन, स्वतन्त्रता र शान्ति प्रक्रियामा निर्वाह गरेको भुमिका प्रसंशनीय रहेको भन्दै सद्भाव प्रवर्द्धनको अभियानमा आफ्नो साथ र शुभकामना रहेको बताए। उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटमा उपराष्ट्रपति यादवले सद्भाव र सहिष्णुता प्रवर्द्धन अहिलेको प्रमुख आवश्यकता भएको र सबैले त्यसैको लागि योगदान गर्नुपर्ने बताए। राष्ट्रपतिलाई भेट्न पुगेको प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सभापति रेनुका पौडेल, पूर्व सभापतिहरू होमकान्त चौलागाई, रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गोतामे, रोजिना विष्ट, पूर्व कोषाध्यक्ष किरण ढकाल, काठमाडौँ शाखा सभापति विकास थापा, उपसभापति सार्जन चापागाई, सचिव रविना धमला, ललितपुर शाखा सभापति बाबुराम न्यौपाने, काठमाण्डौ शाखाका पूर्व सभापति ईश्वर पुडासैनी लगायत सहभागी थिए। समाजले बुधबारै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग भेटी छलफल गरेको छ। सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको छलफलमा संसदले यस विषयमा राष्ट्रिय सङ्कल्प पारित गरी साझा धारणासहित सबै क्षेत्रसँग सहकार्यको अपेक्षा शान्ति समाजले गरेकोबारे ध्यानाकर्षण गराएको समाजकी सभापति रेनुका पौडेलले जानकारी दिइन्। उनका अनुसार, समाजले नेपाली काङ्ग्रेसका सभापति गगन थापासँग समेत संस्थापक सभापति कृष्ण पहाडीको आवास गौशालामा सद्भाव प्रवर्द्धन हेतु राजनीतिक समाज र नागरिक समाजबीच सहकार्य लगायत विषयमा छलफल भएको थियो । सुनसरीको देवानगञ्च घटनापछिको परिस्थितिलाई सामान्य बनाउन समाजले देशभर विभिन्न जिल्लाबाट सद्भाव एकता र्याली सुरू गरेको थियो। तर तत्काल त्यस्ता र्याली नगर्न जिल्ला प्रशासन कार्यालयहरूले अनुरोध गरेपछि ४ वटा र्याली पश्चात हाललाई र्याली स्थगन गरिएको सभापति पौडेलले जानकारी दिइन्।