दुई दशकमा एक हजार पाँच सय योग शिक्षक

  • बुधबार २० साउन २०८३ ०२:०३ PM
बागमती । पतञ्जली योग समिति, मकवानपुरले दुई दशकको अन्तरालमा एक हजार ५०० योग शिक्षक तयार गरेको छ । योगका माध्यमबाट स्वास्थ्य प्रवर्द्धन, चरित्र निर्माण र आरोग्यतासँगै राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यले योग शिक्षक तयार पारिएको पतञ्जली योग समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।  पतञ्जली योग समितिको स्थापना २०६४ साल साउन ४ गते भएको हो । जिल्लामा महिला पतञ्जली योग समिति र पतञ्जली योग युवा समितिसमेत क्रियाशील छन् । योगगुरुले विभिन्न स्थानमा पुगी योग साधनाका बारेमा प्रशिक्षण दिने व्यवस्था छ । “जिल्लामा योग साधनाप्रति आकर्षण  बढ्दो क्रममा छ”, थापाले भने, “वार्षिक कार्यक्रमका साथ समय समयमा बृहत् योग शिविर, मझौला योग शिविरका साथै साना योग शिविर पनि सञ्चालन गरिरहेका छौँ ।” जिल्लाका ४६ ठाउँमा योग साधना केन्द्र छन् ।  हाल ३५ स्थानमा सक्रियतापूर्वक नियमित योग साधना सञ्चालन भइरहेको छ । साधनामा युवालाई थप आकर्षण गर्न सकिएको छैन । जिल्लाका सात स्थानमा बाल संस्कार सेवा कार्यक्रम सञ्चालन भएको छ ।     योग साधनामा सहयोग गर्ने सहयोग शिक्षकका लागि हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित वडा कार्यालय भवन र हेटौँडा–६ स्थित शुभम् पार्टी प्यालेसमा १५ दिने सहयोग शिक्षक तालिम पनि सञ्चालन भइरहेको छ ।  योग साधना कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिका तथा वडा कार्यालयले विभिन्न सहयोग पुर्याउँदै आएको बताइन्छ ।