काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा (फ्यूल सरचार्ज) बढाएको छ । प्राधिकरणको निर्णयअनुसार बढेको नयाँ भाडा दर आजैदेखि लागू हुने भएको छ । नेपाल आयल निगमले श्रावण १७ मा हवाई इन्धनको मूल्य साविकको प्रतिलिटर २२९ रुपैयाँबाट बढाएर २४९ रुपैयाँ पुर्याउने निर्णय गरेको थियो । सोही मूल्य वृद्धिलाई समायोजन गर्न प्राधिकरणको १९ गतेको निर्णयानुसार हवाई सेवा कम्पनीहरूलाई बढेको फ्यूल सरचार्ज कार्यान्वयन गर्न निर्देशन दिइएको हो। प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतद्वारा हस्ताक्षरित पत्र अनुसार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरसहितका सबै आन्तरिक वायुसेवा सञ्चालकहरूलाई नयाँ दर कायम गर्न परिपत्र गरिएको छ । सबैभन्दा बढी प्रभाव विराटनगर–धनगढी रुटमा परेको छ, जहाँ टिकट मूल्य १ हजार २९० रुपैयाँले बढेको छ । त्यसपछि नेपालगञ्ज–भद्रपुर रुटमा १ हजार १७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा १ हजार १०० रुपैयाँले भाडा बढेको छ । काठमाडौंबाट हुने उडानमा पनि यात्रुले थप भार बेहोर्नुपर्ने भएको छ । काठमाडौं–धनगढी रुटमा ८८० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज मा ६५५ रुपैयाँ, काठमाडौं–भद्रपुर मा ६०५ रुपैयाँ, काठमाडौं–विराटनगर मा ४८० रुपैयाँ, काठमाडौं–भैरहवा मा ४१० रुपैयाँ, काठमाडौं–पोखरा मा ३१५ रुपैयाँ, काठमाडौं–जनकपुर मा २६० रुपैयाँ र काठमाडौं–सिमरा मा १८० रुपैयाँले टिकट महँगिएको छ । यस्तै, पोखरा–भद्रपुर रुटमा ८१० रुपैयाँ, पोखरा–धनगढी मा ६८५ रुपैयाँ र पोखरा–जनकपुर मा ५२५ रुपैयाँले भाडा वृद्धि भएको छ । काठमाडौंबाट सञ्चालन हुने माउन्टेन फ्लाइट पनि ६८५ रुपैयाँले महँगिएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २९० रुपैयाँ कायम गरेपछि सोहीअनुसार फ्यूल सरचार्ज समायोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नयाँ भाडादर आजैदेखि लागू भइसकेको छ ।