काठमाडौं। नेपाल दलित मोर्चाले सुनसरीको देवानगञ्जबाट सुरु भई तराई–मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाका घटनाप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिन गर्न माग गरेको छ। ती घटनाको छानविनका लागि उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्ने मोर्चाको माग छ। मोर्चाका संयोजक दलजित श्रीपालीद्वारा जारी विज्ञप्तिमा सरकारले समयमै संवेदनशीलता नदेखाउँदा विभिन्न समूहबीच भएको द्वन्द्वका कारण तीन जनाको मृत्यु हुनुका साथै ठूलो संख्यामा नागरिक घाइते भएको उल्लेख छ। मोर्चाले घटनामा ज्यान गुमाएका सुनसरीका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको गोलबजारका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विज्ञप्तिमा मुलुकमा सुकुम्बासी समस्या झन् जटिल बन्दै गएको, शहरी क्षेत्रमा भएको विभेदविरुद्ध युवा अभियन्ता दिपा नेपाली तीन महिनाभन्दा बढी समयदेखि सत्याग्रहमा रहेको तथा देशका विभिन्न स्थानमा जातीय कारणले दलित युवाहरूको हत्या भए पनि सरकारले ती घटनामा पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाइएको छ। मोर्चाले हाल भएका झडपका कारण, स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेको छ।