पृष्ठभूमि नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषतायुक्त समाज हो । यसै आधारमा नेपाल लामो समयदेखि सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्वका लागि चिनिँदै आएको छ । तर, पछिल्लो समयको अवस्था सन्तोषजनक छैन । पूर्वी नेपालको सुनसरी र त्यसपछि देशका विभिन्न भागहरू—विशेषगरी मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा धर्म र सम्प्रदायका नाममा केही तनावपूर्ण अवस्था सिर्जित हुँदा सामाजिक सद्भावमाथि नै प्रहारको दुखद अवस्था उत्पन्न हुन पुगेको छ । एउटा समुदायको धार्मिक जुलुस, पूजा–आजा वा पर्वका नाममा सुरु भएका सामान्य विवादले उग्ररूप लिई कफ्र्यु लगाउनेसम्मको स्थिति सिर्जना हुनुले हाम्रा सामाजिक तानाबानाको संवेदनशीलता उजागर गर्दछ । अवस्था कहाँसम्म सिर्जना भएको छ भने यही नाममा तीनजना युवाले ज्यान गुमाइसकेका छन् । यो सामग्री तयार पारुञ्जेलसम्म अवस्थामा सुधारको क्रम सुरु भइसकेको छ । विगतमा कर्फयु लगाइएका स्थानमा कि त कर्फयु हटाइसकिएको छ कि त त्यसलाई निषेधाज्ञामा रुपान्तरण गरिएको छ । यो आलेखमा यस्तै संवेदनशीलता र सामाजिक सद्भाव अभिवृद्धिका सम्बन्धमा पत्रकारिता र सञ्चारमाध्यम (सामाजिक सञ्जालसमेत)को भूमिकाबारे चर्चा गर्ने प्रयत्न गरिएको छ । वास्तवमा भन्ने हो भने कुनैपनि प्रकारको सामाजिक द्वन्द्वका समयमा सञ्चारको भूमिका निर्णायक हुन्छ । सञ्चारले द्वन्द्वको विस्तार र न्यूनीकरण दुबैमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । विश्व इतिहासमा यस्ता अनेकौं उदारण छन् जहाँ संञ्चार क्षेत्रको अव्यवस्थित, अव्यवहारिक, आग्रही, असैद्धान्तिक, गैरव्यवसायिक प्रयोगका कारण निकै ठूलो स्तरमा द्वन्द्वको विस्तार भएको छ र नरसंहारकै अवस्था सिर्जना हुन मद्दत पुगेको छ । रुवाण्डाको नरसंहार र रेडियोको भूमिका माथिको सन्दर्भमा रुवाण्डाको नरसंहारलाई एक उदाहरणका रुपमा लिन सकिन्छ । रुवाण्डामा त्यहाँको सरकारी रेडियोका कारण पनि नरसंहार मच्चिएको मानिन्छ । रुवाण्डामा सन् १९९४ मा भएको नरसंहारलाई मानव इतिहासकै एउटा अत्यन्तै दुःखद र भयानक घटनाका रुपमा स्वीकार गर्ने गरिएको छ । १९९४ को अप्रिलदेखि जुलाईसम्मको करिब १०० दिनको छोटो अवधिमै यहाँ आठ लाखभन्दा बढी मानिसको निर्ममतापूर्वक हत्या गरिएको अनुमान छ । रुवाण्डामा त्यसबेला अस्तित्वमा रहेका मुख्यतया दुई जातीय समुदाय हुतु जो बहुमतमा थिए, र टुत्सी जो अल्पसङ्ख्यक थिए, बीचको द्वन्द्वको परिणाम थियो त्यो नरसंहार । फ्रान्स र बेल्जियमको उपनिवेशकालमा टुत्सीहरूलाई उच्च दर्जा दिइयो, जसले गर्दा हुतु समुदायमा गहिरो असन्तोष पैदा भयो । फ्रान्स र बेल्जियमले सत्ता छोडेपछि बहुसंख्यक हुतुहरू सत्तामा आए र दुवै पक्षबीच तनाव बढ्दै गयो । अप्रिल ६, १९९४ मा रुवाण्डाका तत्कालीन राष्ट्रपति जुवेनल हाब्यारिमाना (हुतु समुदायका) को विमान खसालेर हत्या गरिएपछि दुबै समूहबीचको द्वन्द्वउत्कर्षमा पुग्यो । यस हत्याको दोष टुत्सी विद्रोहीहरूलाई लगाइयो र लगत्तै भोलिपल्ट (अप्रिल ७) बाट हुतु चरमपन्थीहरूले योजनाबद्ध रूपमा टुत्सी र शान्तिप्रिय हुतुहरूको हत्या गर्न सुरु गरे । त्यहाँका नरसंहारलाई मलजल गर्न रेडियोको निकै ठूलो भूमिका रहेको स्वीकार गरिन्छ । विश्लेषकहरुका अनुसार राज्यद्वारा सञ्चालित रेडियो स्टेशनहरूबाट टुत्सीहरूलाई “साङ्ला” भनेर सम्बोधन गर्दै तिनलाई मार्न खुला आह्वान गरिएको थियो । पल कागामेको नेतृत्वको टुत्सी विद्रोही समूह रुवान्डन पेट्रियटिक फ्रन्ट (आरपिएफ) ले राजधानी किगालीमा कब्जा जमाएपछि जुलाई १९९४ मा यो नरसंहार अन्त्य भयो । नरसंहार रोकिएपछि कारबाहीको डरले करिब २० लाख हुतुहरू छिमेकी देशतिर पलायन भएको मानिन्छ । रुवाण्डाको यो घटनापछि राष्ट्र संघले द्वन्द्वका सन्दर्भमा ‘संवेदनशीलता’ पनि महत्वपूर्ण हुने स्वीकार गर्दै विश्वभर यसको प्रचारप्रसारमा जोड दिन थालेको हो । यति ठूलो त्रासदी भोगिसकेपछि पनि रुवाण्डाले आफूलाई अद्भुत रूपमा पुनरुत्थान गरेको देखिन्छ । अहिले रुवाण्डामा जातीय विभाजनलाई कानुनतः प्रतिबन्ध लगाइएको छ र सबैलाई ‘रुवान्डन’ मात्र भनिन्छ । आज रुवाण्डा अफ्रिकाकै सबैभन्दा सुरक्षित, सफा र द्रुत गतिमा विकास भइरहेका देशमध्ये एक मानिन्छ । नेपालमा सामाजिक सञ्जाल र मिडियाको भूमिका के